एसियन कप छनोट

कुवेतसँग नेपालको ४–१ को पराजय, दर्शनले फर्काए गोल

काठमाडौं। एसियन कप–२०२३ को छनोट अन्तर्गत समूह ए को दोस्रो खेलमा घरेलु कुवेतलाई ४–१ गोलले नेपालले नतिजा सुम्पिएको छ। 

कुवेतस्थित जाबिर अल अहमद मैदानमा घरेलु टोलीको  जितमा युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले एक–एक गोल गरे। नेपालका लागि दर्शन गुरूङले खेलको अन्त्यतिर एक गोल फर्काए। 

सुरूआतदेखि नै दबावमा देखिएको नेपालले २८औं मिनेटमा गोल खान पुग्यो। फहद अलरेसिदीले गोल गर्दै कुवेतलाई अग्रता दिलाए।नेपालले पहिलो हाफमा खेललाई १–० मा राखेको थियो। दोस्रो हाफको खेल सुरु भएको ३ मिनेटभित्रै गोल खानु नेपालका लागि दुर्भाग्य सावित भयो। ४८ मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे। ५७औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको प्रहार क्रस बारमा लागेर फर्कदा नेपाल अग्रता कम गर्नबाट चुक्यो। ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपाल ३–० ले पछि परेको थियो।

७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दै कुवेतलाई ४–० को अग्रता दिलाए। नेपालका लागि ४ मिनेटको थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा दर्शन गुरूङले गोल गर्दै खेललाई ४–१ को स्थितिमा पुर्याए। उनी ३५औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।

कुवेतले छनोटमा पहिलो जित निकालेको हो। नेपालको भने यो लगातार दोस्रो हार हो। कुवेतले २ खेलबाट ३ अंक जोडेको छ। नेपाल हालसम्म अंकविहीन अवस्थामा छ। 

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ। तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ। त्यस्तै उत्कृष्ट ५ बाट दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्।

प्रतिक्रिया