३ वर्षको प्रतीक्षा पूरा भएको दिन

काठमाडौं। ३ वर्षअघि काठमाडौंमा आयोजना भएको १३औं साग गेम्समा उनी नेपालको युथ–२३ टोलीमा पर्न सफल भएका थिए। गत वर्ष माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पनि उनी राष्ट्रिय टोलीमा समावेश नभएका होइनन्। तर, दुवै पल्ट उनी तेस्रो रोजाईमा परेका थिए। 

यसपालि राष्ट्रिय टोलीका १० खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल–मुताइरीविरूद्ध ‘विद्रोह’ को शंखनाद गर्दा उनलाई राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्ने अवसर जुर्‍यो। र, उनले ‘डेब्यू’ खेललाई यति अविस्मरणीय बनाए, अहिले उनको चर्चा देशभित्र मात्र होइन विदेशमा पनि भइरहेको छ। 

दीप कार्की, नेपाली राष्ट्रिय टोलीका नवनियुक्त गोलकिपर, जसले एएफसी एसियन छनोटअन्तर्गत जोर्डनविरूद्धको खेलमा प्रभावकारी प्रदर्शन गर्दै सबैको मनमस्तिष्कमा स्थान बनाउन सफल भएका छन्। 

deep karki1

कप्तान किरण चेम्जोङ जस्ता अनुभवी र खारिएका गोलकिपरको स्थान लिनु दीपका लागि चानचुने दबाब थिएन। तर, उनले ०–२ ले जोर्डनलाई नतिजा सुम्पिएको खेलमा केही आकर्षक बचाउ गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका छन्।

उनले पहिलो हाफको ४४ मिनेटमा जोर्डनका मौसा मोहम्मद सुलेमानीको पेनाल्टी रोकेर सबैको वाहवाही लुटे। आफूभन्दा बलियो टोलीविरूद्ध उनको यो प्रदर्शन वास्तवमै तारिफयोग्य थियो। 

प्रशिक्षक अल–मुताइरीविरूद्ध ‘विद्रोह’ गरेका खेलाडीको साथ र समर्थन आफ्नो रहने वक्तब्य दिएपछि किरणलाई पनि टिम बाहिर राखिएको थियो। यस्तो अवस्थामा धेरैले अनुमान लगाएका थिए, किरणको अनुपस्थितमा गोल पोस्टमा जोर्डनविरूद्ध नेपालको प्रदर्शन निकै फितलो रहने छ। यसअघि जोर्डनविरूद्ध नेपालले ८–२ अन्तरको पराजय भोगिसकेको कारण पनि धेरैले अनुमान लगाएका थिए। 

तर, दीपले गोल पोस्टमा किरणको कमिलाई महसुस हुन दिएनन्। तीन वर्षदेखि राष्ट्रिय टोलीको ‘क्याप’ लगाउने उनको सपना पूरा भएको दिन अविस्मरणीय खेल प्रदर्शन गरे। 

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै घर भएका दीप सानैदेखि फुटबल खेल्दै हुर्किएका हुन्। पोखरामा रहँदा उनले सहारादेखि विभिन्न स्थानीय क्लबबाट फुटबल खेले। काठमाडौंमा भने उनको प्रवेश मच्छिन्द्र क्लबबाट सुरु भएको हो। 

फुटबल लथालिङ भएको वर्ष २०७५ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेशनको नियम लागु नगर्दा उनी मच्छेन्द्रबाट सहभागी भएका थिए। अर्को वर्ष उनी मनाङ मस्र्याङ्दीमा आवद्ध भए। मनाङबाट खेल्ने क्रममै उनी २०७६ सालमा उत्कृष्ट गोलकिपर छनोट भएका थिए। 

तर, राष्ट्रिय टिममा किरण र विकाश कुथु जस्ता अनुभवी गोलकिपर हुँदा उनले मौका पाएका थिएनन्। विगत दुई सिजनयता उनी हिमालयन शेर्पा क्लबमा आवद्ध छन्। दीप परिवारका एक्ला सदस्य हुन्। उनको बुवा रोजगारीबाट भर्खरै विदेशबाट नेपाल फर्किएका छन्। आमा शिक्षिका हुन्। 

नेपालले एसियन छनोटअन्तर्गत अझै कुवेत र इन्डोनेसियाको सामना गर्नु पर्नेछ। त्यसैले अहिले नै उनको विषयमा धेरै कुरा गर्नु अलि हतारो हुनेछ। तर, ‘डेब्यू’ खेलमै उनले जुन स्तरको प्रदर्शन गरेका छन्, यसले आशा गर्ने ठाउँ धेरै देखिएको छ। 
 

प्रतिक्रिया