फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ८ र डिजेल÷मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमले गत सातामात्र पेट्रोल, डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।
 

प्रतिक्रिया