प्रदेश एकको नामाकरणका लागि एमालेद्वारा पाँच सदस्यीय समिति गठन

विराटनगर । नेकपा एमालेले प्रदेश एकको नामाकरणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । एमाले संसदीय दलको बिहीबारको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामाकरण समिति बनाएको हो ।

समितिको सदस्यमा पूर्वसामाजिक विकासमन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्वउद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेको एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । समितिले प्रदेशको नामकरणका लागि दलका सांसदहरुबीच सहमति जुटाउनुका साथै अन्य दलहरुबीच सहमतिका लागि संवाद गरेर चालु बजेट अधिवेशनबाटै नामकरण गर्ने राजभण्डारीले बताए ।

सात प्रदेशमध्ये प्रदेश १ को मात्रै नामकरण बाँकी रहेकाले प्रदेश सांसद र राजनीतिक दलहरु आलोचित हुँदै आएको छ । ९२ सदस्यीय प्रदेशसभामा ५ दलीय गठबन्धनमा ५० जना प्रदेश सांसदमात्रै छन् । प्रमुख प्रतिपक्षी एमालेका ४१ र राप्रपाका १ प्रदेश सांसद छन् । प्रदेशसभाबाट प्रदेशको नाम पारित गराउन आवश्यक ६२ सांसद पुर्याउन एमालेको समर्थन अपरिहार्य छ ।

प्रतिक्रिया