नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको हो ।

त्यस्तै अर्को वर्ष २०२३/२४ का लागि नेपालले ५.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैंकको अनुमान छ । नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ । आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाह्य क्षेत्रलाई मुख्य कारण मानिएको छ ।

बढ्दै गएको चालु खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ । त्यस्तै कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुँलगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा संकटजस्ता कारणले आर्थिक वृद्धिदर कम हुने ठानिएको छ ।


 

प्रतिक्रिया