अब संसद्मा गएर जनताको आवाज उठाउन चाहन्छु : पुकार बम, युवा नेता

सामाजिक अभियन्ता तथा युवा नेता पुकार बलले आगामी संसदीय निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र हैसियतमा उम्मेदवारी घोषणा गरेका छन् । बमको यस्तो घोषणासँगै उनको बारेमा चर्चा–परिचर्चा सुरु भएको छ ।

‘यतिन्जेल सडकबाट नागरिकका आवाज उठाएँ, अब संसद्मा गएर उनीहरुका मुद्दा उठाउन चाहन्छु,’ दृश्य टिभीसँग कुराकानी गर्दै उनले भने । एक दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक आन्दोलनका साथै राजनीतिक पार्टीसँग आबद्घ रहेर काम गरिसकेकाले  काठमाडौं क्षेत्र नम्बर १ का आमजनताले आफूलाई विश्वास गरेर अभिमत जाहेर गर्ने उनको विश्वास छ ।  
 
एक दशकभन्दा अघिदेखि विभिन्न सामाजिक आन्दोलनमा सक्रिय बम स्वर्गीय उज्ज्वल थापाको नेतृत्वमा स्थापित विवेकशील नेपाली दलका संस्थापक नेता हुन् । सन् २०१२ मा भएको अकुपाई बालुवाटार आन्दोलनमा बमले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए । 

विभिन्न राजनीतिक दलहरुले विरोधस्वरुप गर्दै आएको बन्द–हडतालबाट जनताहरु आजित भइरहेको अवस्थामा विवेकशील नेपालीले त्यही बेला सुरु गरेको ‘नेपाल खुला छ,’ अभियानमा पनि बमले उल्लेखनीय भूमिका निर्वाह गरिसकेका छन् । चिकित्सा क्षेत्रमा भएको व्यापारिकरण तथा माफियाकरणविरुद्घ डा. गोविन्द केसीले सुरु गरेको पहिलो सत्याग्रहदेखि नै बमले डा. केसीको अभियानलाई अत्यन्तै नजिकबाट समर्थन र सहयोग गर्दै आएका छन् । 

कोभिड १९ महामारीका बेला तत्कालिन ओली सरकारले अत्यावश्यकीय औषधि, मास्क, स्यानिटाइजर आदीमा चरम अनियमितता भएपछि उनी इनअफ इज इनअफ आन्दोनको नेतृत्व पनि गरेका थिए । सोही क्रममा सत्याग्रह समेत बसिसकेका बमले शालीन बिद्रोही अभियन्ताको पहिचान बनाएका छन् । 

विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भई विवेकशील साझा पार्टी गठन भएपछि बमले २०७४ सालको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवारी दिएका थिए । तर, उनी त्यसबेला पराजित भए । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजतन्त्र र धर्म निरपेक्षताबारे जनमत संग्रह हुनुपर्ने प्रावधानसहित अन्य विषयवस्तु समेटेर ल्याएको प्रतिवेदन पार्टीको केन्द्रीय कमिटीबाट पारित भयो । तर, विवेकशील साझाका संयोजक मिलन पाण्डे, पुकार बमलगायत नेताहरुले त्यसको विरोध गरेपछि पार्टीका २६ जना नेताहरु कारबाहीमा परेका थिए । 

स्थानीय तह निर्वाचनमा अपेक्षित नतिजा नआएपछि विवेकशील साझाका अध्यक्ष मिश्रले  पार्टी राजीनामा दिएर आफूले २६ जना नेताहरुमाथि गरेको कारबाही निष्क्रिय भएको उल्लेख गरेका छन् । तर, बमले भने एकाएक काठमाडौं क्षेत्र नम्बर १ बाट एकाएक स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । 

साथीहरुसँग सरसल्लाह गरेर आफूले उम्मेदवारी घोषणा गरेको र यो एकाएक नभएको उनको भनाइ छ ।  
   
‘मैले साथीभाइहरु र शुभचिन्तकसँग सल्लाह गरेर नै स्वतन्त्र उम्मेदवारी थिएको हुँ, पछि पनि सरसल्लाहमै अगाडि बढ्ने योजना छ । तर, अहिले स्वतन्त्र उम्मेदवार घोषणा गरिसकेकाले पछि बार्गेनिङ गरेर अरु पार्टीबाट उम्मेदवार बन्ने काम मबाट हुँदैन,’ उनी भन्छन् । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण बम सोसल वर्कमा पिएचडी गर्दै छन् ।

स्थानीय तहको हालै सम्पन्न निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङलगायत स्वतन्त्र युवा नेताहरुको विजयले उत्साह थपेको उनको धारणा छ । ‘यसपालि काठमाडौं महानगरमा हामीले बालेन शाहको पक्षमा खुलेर अभियान चलायौं, आगामी प्रदेश र संसदीय निर्वाचनमा पनि मतदाताले सक्षम र योग्य युवा नेताहरुलाई नेतृत्वमा पु¥याउनुहुनेछ भन्ने आस छ,’ उनी थप्छन् ।

प्रस्तुत छ, संसदीय चुनावमा उम्मेदवारी, सामाजिक अभियान, मुलुकको राजनीतिक बेथितिलगायत समसामयिक विषयमा बमसँग दृश्य टिभीले गरेको कुराकानी ।  हेरौं भिडियो–

प्रतिक्रिया