ललिता निवास जग्गा प्रकरण सामसुम पार्ने षड्यन्त्र

काठमाडौं। बहुचर्चित ललिता निवास जग्गा प्रकरण यतिबेला ओझेलमा परेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गामा प्रमुख राजनीतिक दलका नेता, पूर्व प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानले किटानी गरेको छ। सर्बोच्च अदालतका न्यायाधीश र ठूला व्यापारी पनि यो प्रकरणमा संलग्न रहेको देखिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले अनुसन्धान सकेर कानूनी कारबाहीका लागि सरकारी वकिलको कार्यालयमा बुझाएपनि उल्टै थप अनुसन्धान गर्नु भनेर प्रतिवेदन फिर्ता पठाएपछि यो बिषय ओझेलमा पार्ने सम्भावना बढेको छ। यो जग्गा प्रकरणको अनुसन्धान गर्दाका सीआईबी प्रमुख धिरजप्रताप सिंह नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त भैसकेका छन्। सबै दलका नेता र स्वार्थ समूहको संलग्नता देखिएपछि कानूनी कार्बाही छल्न थप अनुसन्धानको नाटक मञ्चन गरिएको प्रष्ट छ।    

ललिता निवासको ११२-४-१-० रोपनी सरकारी जग्गा मध्ये बिभिन्न चरणमा खरिद बिक्री भई हाल कायम रहेका जग्गा तथा जग्गा धनीहरुको विवरण हेर्दा ठूलो आर्थिक चलखेल भएको देखिन्छ। राजनीतिक संरक्षणमा यस्तो दुरुपयोग भएको प्रष्ट पार्न दलका नेताहरुको संलग्नता र उनीहरुलाई उन्मूक्ति दिन भैरहेको चलखेल नै पर्याप्त छ।

यी हुन् उच्चपदस्थ प्रतिवादी

निर्वाचन आयोगका पूर्व आयुक्त सुधिर शाहले श्रीमती उर्मिला शाहको नाममा हालैका वकस गरीलिएका थिए। त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व सह सचिव गेहनाथ भण्डारीले पनि आफ्नी श्रीमती भुवन कुमारी चापागाईको नाममा जग्गा लिएका थिए।

मालपोत कार्यालय डिल्ली बजारका प्रमुख पूर्व सह सचिव कलाधर देउजाले ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा लिखत किर्ते व्यहोराका कागजात बनाई ब्यक्ति विशेषको नाममा नामासारी र दाखेल खारेज गरेको भनी अनुसन्धानबाट देखिएको छ। साथै मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टिकाराम घिमिरे ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हालसाविक गर्ने निर्णय गरेर अनियमित गरेको छ।

भाटभटेनी सुपरमार्केटका संस्थापक मिन बहादुर गुरुङले त ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा खरिद बिक्री गरेको भनी आरोप लागेको छ। गुरुङले आफ्नी पत्नी र नातेदारका नाममा पनि त्यहाँको जग्गा खरिद गर्दै बिक्री गरेको देखिएको छ।

को को हुन् जग्गाधनी? 

भाटभटेनी डेभलपमेन्ट (प्रा) (लि), डि.एल.एफ.डेभलपर्स र गैरअवासीय नेपाली संघले संस्थागत रुपमै जग्गा खरिद गरेका छन्। 

त्यसैगरी व्यक्तिगत रुपमा राम कुमार सुवेदी, शोभाकान्त ढकाल, सरला गुरुङ, उमाकुमारी ढकाल, माधवी सुवेदी, द्वारिकादेवी श्रेष्ठ, भवानी जोशी, भारती पाण्डे, मनोज कुमार गौतम, प्रगति कंसाकार, अमिताभ तुलाधर, कल्पना तुलाधर, अच्युतराज श्रेष्ठ,  रत्‍नहिराबज्राचार्य, प्रमोद शेरचन, पुरुषोत्तम पौडेल, शर्मिला (शाक्य) बज्राचार्य, प्रतिमावैद्य प्रधान र मन्ती गोर्खाली सहित ७२ जनाले ललिता निवासको जग्गा खरिद गरेको अनुसन्धानले देखाएको सरकारी वकिलको कार्यालयका एक अधिवक्ताले बताए।

प्रतिक्रिया