मुल्यवृद्धि नियन्त्रणका लागि संसदीय समिति गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले मूल्यबृद्धि नियन्त्रणका लागि संसदीय समिति बनाउन माग गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले नियमित रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा त्यसले सबैतिर मूल्य बढेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार आएपछि मूल्यवृद्धि आकासिएको दाबी गरे। उनले भने, ’ यो सरकार आउनु अघि पेट्रोलको मूल्य १०२ रुपैयाँ रहेकोमा अहिले अहिले १७० पुगेको छ । यसैगरी डिजेल ८८ रुपैयाँबाट १७३ रुपैयाँ, ग्यास १ हजार ४२५ रुपैयाँ प्रतिसिलिण्डरबाट १८०० पुगेको छ ।  चिनी प्रतिकिलो ८४ रुपैयाँमा प्राप्त भइरहेकोमा अहिले होलसेल मूल्य नै ९९ रुपैयाँ पुगेको छ । तिहारसम्म १३० रूपैयाँ पुग्ने चर्चा सुनिएको, तर सरकारले नियन्त्रणमा पहल गरेको छैन।’

उनले आफूहरुलाई अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जानकारी रहेको तर त्यसलाई करबाट समायोजन गर्न सकिने उल्लेख गरे। उनले पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, डिजेल ४५ रुपैयाँ, मट्टितेलमा १९ रुपैयाँ र ग्यासमा २ सय ९७ रुपैयाँ कर सरकारले लिइरहेको बताए ।

उनले भने, ’सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्यो। त्यसको असर उपमभोग्य वस्तुमा पर्यो, तर सरकारले बजार अनुगमन गरेको सुन्न पाइएन। बजार अनुगमन ठप्प पारेको छ।’

यसैगरी नेपाल आयल निगमको एकाधिकार अन्त्य गर्ने प्रस्ताव सरकारले अघि सारेर निजी कम्पनीलाई पोस्ने योजना बनाएको पनि भट्टराईले दाबी गरे ।

एमाले सांसद यज्ञराज सुनुवारले मुल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भइसकेको आरोप लगाए । उनले सरकार मूल्यवृद्धि नियन्त्रण गर्न असफल भएकाले जनता मारमा परेको बताए । यसरी मुल्यवृद्धि भइरहनुको कारण पत्ता लगाउन छानबिन समिति बनाउन उनले माग गरे ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने स्वचालित प्रणाली १५/१५ दिनमा लागू हुनुपर्नेमा एकै हप्तामा दुई पटक मूल्य बढाएको समेत उनले आरोप लगाए । उनले भने,‘खेती गर्ने समयमा किसानहरु मल नपाएर हाहाकारमा छन् । यस्तो अवस्थामा सरकारले पेट्रोलिय पदार्थमा अचाक्ली मुल्य बढाएको छ।’ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राखेको प्रस्तावमा सांसदहरु यज्ञराज सुनुवार, गणेश पहाडी र राजेन्द्र लिङ्देनले समर्थन जनाएका छन् ।

प्रतिक्रिया