इयूको घोषणा– रुसको ९० प्रतिशत तेलको आयात रोक्ने

ब्रसेल्स। युरोपेली संघमा आवद्ध २७ सदस्य राष्ट्रहरू रुसलाई नयाँ आर्थिक प्रतिबन्ध लगाउने विषयमा सहमत भएका छन्। यो निर्णयसँगै यस वर्षको अन्त्यमा युरोपेली संघले रुसबाट आयात हुने तेलमा ९० प्रतिशत कटौति गर्ने भएको छ। 

ब्रसेल्समा युरोपेली संघका नेताहरू रुसको विषयमा आमसहमति जनाउन दुई दिनदेखि लगातार बैठकमा बसेका थिए। उनीहरू रुसको परनिर्भरतालाई कटौति गर्न राजी भएपछि युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलले ट्वीट गरेका छन्, ‘यसले रुससँग दुई चौथाईभन्दा बढी तेल आयातलाई छिट्टै प्रभावित गर्नेछ। र, युद्धका लागि धनको श्रोतमा ठूलो कटौति आउनेछ।’ 

पहिलो दिनको बैठकपछि प्रेस कन्फ्रेन्समा युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डेय लायनले भनिन्, समुन्द्री बाटो हुँदै रुसबाट युरोपेली संघमा प्रवेश गर्ने तेल सम्पूर्ण रूपमा यस वर्षको अन्त्यसम्म बन्द हुनेछ। यो रुसी तेल आयातको लगभग दुई चौथाई भाग हो।’

उनले सोभियत जमानादेखि ठूलो पाइपलाइन ड्रुज्बाको बाटो हुँदै युरोप प्रवेश गर्ने तेलको लाइनलाई तत्काल प्रतिबन्ध मुक्त राखिने बताइन्। यो पाइपलाइनले रुसलाई पूर्वी तथा मध्य युरोपका केही देशसँग जोडेको छ। हंगेरी र अन्य केही राष्ट्रले पाइपलाइनलाई सूचारु राख्न  दबाब दिएका थिए। यो पाइपलाइनबाट युरोपमा करिब एक चौथाई तेल सप्लाई हुने गर्छ। यसको केही भाग युक्रेनको बाटो हुँदै जान्छ।
जर्मनी र पोल्याण्डले भनेका छन्, पाइपलाइनबाट आउने तेललाई विस्तारै बन्द गरिने छ।

युरोपेली संघले रुसलाई छैटौं चरणको प्रतिबन्ध लगाउने तयारी गरेको छ, जसमा रुसको सबैभन्दा ठूलो बैक स्बर बैंकलाई ‘स्विफ्ट सिस्टम’ बाट बाहिर राख्नु हुनेछ। यस्तै रुसका तीन सरकारी मिडिया कम्पनी र युद्ध अपराधमा जोडिएका व्यक्तिलाई पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। 

गत मेमा युरोपेली आयोगले रुसी तेलमा पुरै प्रतिबन्ध लगाउने प्रस्ताव राखेको थियो। यसमा सहमति बने पनि व्यवहारिक कठिनाईका कारण पुरै प्रतिबन्ध लगाउन नसकिएको हो।

यस्तै, युद्धग्रस्त युक्रेनको सहायताका लागि युरोपले ९ अर्ब युरोको आर्थिक प्याकेज उपलब्ध गराउने भएको छ। यी पैसा सरकारी कर्मचारीको तलब, अस्पताल र स्कुललाई सूचारु राख्न काम लाग्ने बताइएको छ। 
 

प्रतिक्रिया