कश्मीरका पृथकतावादी नेता मलिकलाई जन्मकैदको सजाय, पाकिस्तानी प्रधानमन्त्री भन्छन्– कालो दिन

काठमाडौं– कश्मीरका पृथकतावादी नेता भनेर चिनिने यासिन मलिकलाई आतंकवादलाई आर्थिक सहयोग गरेको मुद्दामा सुनाइएको जन्मकैदको सजायको पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले विरोध गरेका छन्।

ट्विट गर्दै उनले यसलाई भारतीय लोकतन्त्र र न्याय प्रणालीका लागि कालो दिन भनेका छन्।

उनले भनेका छन्, ‘आज भारतीय लोकतन्त्र र न्यायिक प्रणालीका लागि कालो दिन हो। भारतले यासिन मलिकलाई शारीरिक रूपमा जेलमा हाल्न सक्छ, तर स्वतन्त्रताको विचार जसका लागि उनी परिचित छन्, त्यसलाई जेलमा राख्न सकिँदैन। बहादुर स्वतन्त्रता सेनानीलाई आजीवन कारावास दिनुले कश्मीरीहरूको आत्मनिर्णयको अधिकारलाई नयाँ गति दिनेछ।’

मलिकलाई एक विशेष एनआईए अदालतले आतंकवादी फन्डिङ मामिलामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ।

मलिकमाथि देशविरुद्ध युद्ध छेडेको, आपराधिक षड्यन्त्र र गैरकानुनी गतिविधिमा संलग्न भएको जस्ता गम्भीर आरोपहरू लगाइएको थियो। उनले अदालतमा आफूमाथि लगाइएको सबै आरोप स्वीकार गरेका थिए।

प्रतिक्रिया