गोलीबारीमा २१ जनाको मृत्यु भएपछि वाइडेन भन्छन्– हामी यस प्रकारको हिंसाको बीचमा कहिलेसम्म बाँच्ने ?

काठमाडौं- अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीबारीमा १८ बालबालिकाको मृत्यु भएको घटनाप्रति अमेरिकी राष्ट्रपति जो वाइडेनले दु:ख प्रकट गरेका छन्। 

यस गोलीबारीमा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको पुष्टि भएको छ। मारिने अधिकांश बालबालिका ७ देखि १० वर्षका थिए।

विद्यालयमा भएको गोलीकाण्डको घटनालाई लिएर राष्ट्रपति बाइडेनले यो शोकलाई कार्यमा परिणत गर्नुपर्ने समय आएको बताएका छन्।

घटना हुँदा वाइडेन क्वाड सम्मेलनका लागि जापान भ्रमणमा थिए। ह्वाइट हाउस पुग्नेबित्तिकै उनले श्रीमती जिल वाइडेनसँग घटनाबारे जानकारी लिएका थिए।

बाइडेनले भने,‘यस्तो प्रकारको सामूहिक गोलीबारी विश्वमा कतै विरलै हुन्छ। अन्य देशहरूमा मानसिक स्वास्थ्य समस्या छ, उनीहरूमा घरेलु झगडा छ। तर, अमेरिकामा गोली हानाहान भएजस्तो पटकपटक हुँदैन किन? हामी यस प्रकारको हिंसाको बीचमा बाँच्न चाहन्छौं?’

उनले थपे, ‘हामीले किन यो निरन्तर हुन दिइरहेका छौं? अब यो पीडालाई कार्यमा परिणत गर्ने समय आएको छ, प्रत्येक अभिभावकका लागि यो देशका प्रत्येक नागरिकको लागि। अफिसरले यो प्रष्ट पार्नु पर्छ कि अब काम गर्ने समय हो।’

वाइडेनले अमेरिकाको हतियार सम्बन्धि प्रावधानलाई लिएर प्रश्न गरेका छन्।

उनले भने, ‘हामी बन्दुक बोक्ने प्रावधानविरुद्ध कहिले उठ्ने? अब हतियारका लागि नयाँ कानुनमा अवरोध गर्नेहरूका लागि समय आएको छ। हामीले धेरै गर्न सक्छौं र हामीले गर्नैपर्छ।’

प्रतिक्रिया