दमकमा २८ वर्षपछि राम थापाको सपना पुरा भएको दिन  

दमक। २०२७ सालदेखि निरन्तर राजनीतिमा खटिएका राष्टि्रय प्रजातानि्त्रक पार्टी (राप्रपा) का पुराना नेता राम थापाको २८ वर्ष लामो तपस्या पुरा भएको छ। 

पञ्चायती व्यवस्थादेखि नै राजनीतिमा सक्रिय थापा एक पल्ट भए पनि जननिर्वाचित उम्मेदवारको रूपमा आफ्नो गाउँ ठाउँको विकाश गर्न चाहन्थे। तर, त्यो अवसर उनले रोजेको राजनीतिक विचारधाराका कारण सफल हुन सकेको थिएन। 

तर, अहिले दमकवासीले उनै अनुभवी तथा आफ्नो विचारधारामा अविचलित रहेका व्यक्तिलाई दमक नगरपालिकाको मेयर पदमा विजय दिलाएका छन्। हालै सम्पन्न मतगणना अनुसार राम थापाले ५ सय ५९ मतले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी गीता पौडेल अधिकारीलाई पराजित गरेका छन्। 

उनले यसपालिको स्थानीय निर्वाचनमा १७ हजार ५ सय २५ मत प्राप्त गरेका छन्। एमालेकी गीताले १६ हजार ९ सय ६६ मत प्राप्त गरिन्। 

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भए यतादेखि नै थापा राप्रपाबाट निरन्तर उम्मेदवार बन्दै आइरहेका थिए। तर, सबैपल्ट उनी झिनो मतले एमालेकै प्रतिद्धन्द्धीसँग पराजित हुन्थे। २०५१ सालमा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा उनी एमालेका पूर्व मेयर रोम ओलीसँग ७ सयको झिनो मतान्तरले पराजित भएका थिए। गणतन्त्र स्थापनापछि २०७४ मा भएको निर्वाचनमा पनि उनी ओलीसँगै करिब ३ हजारको मतान्तरले पराजित हुन पुगेका थिए। 

यो उनको तेस्रो प्रयास थियो। यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सबै पार्टीले मोर्चाबन्दी गरेपछि उनी यहाँको साझा उम्मेदवार बनेका थिए। ‘बल्ल जनसेवा गर्ने अवसर जुरेको छ। म सबैलाई साथ लिएर दमकको विकाशमा खटिने छु,’ विजयपछि दृश्यटिभीसँग उनले भने। 

६५ वर्षीय थापाले राषि्ट्रय विधार्थी मण्डलमार्फत राजनीति सुरु गरेका हुन्। उनीसँग गाउँ पञ्चायतदेखि नगर पञ्चायतसम्म गरी करिब १५ वर्ष स्थानीय निकायमा काम गरेको अनुभव छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायत थुप्रै राजनीतिक पार्टीले उनलाई समर्थन गरे पनि उनले सोचे जस्तो भोट खसेको छैन। उनीसँग पहिलेदेखि नै १२ देखि १५ हजारको हाराहारीमा पकेट मत थियो। दमक राप्रपाको राम्रो पकड भएको ठाउँ हो। यद्यपि उनले चुनाव जितेर आफ्नो पहिलेदेखिको सपना पुरा गरेका छन्। 

प्रतिक्रिया