सिके राउतको पार्टीलाई सप्तरीमा पहिलो सफलता 

सप्तरी। अघिल्लो स्थानीय निकायको चुनावमा पृथकतावादी आन्दोलनका कारण जेलमा सजाय काटेका सिके राउतको जनमत पार्टीले सप्तरी हनुमाननगर कंकालिनीको मेयर पद जितेको छ। 

केपी ओली सरकारको पालामा सरकारसँग सम्झौंता गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका राउतले यसपालि जनमत पार्टी गठन गर्दै तराईको २२ जिल्लामा आफ्नो उम्मेदवार उठाएका थिए। 

जसअन्तर्गत हनुमाननगर कंकालिनीमा वीरेन्द्र माझीले मेयर पदमा जित दिलाएपछि जनमत पार्टीले स्थानीय निकायको चुनावमा खाता खोलेको छ। माझीले जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार साहलाई १६१ मतले पराजित गरेका छन्। माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरेका छन् भने साहले ६ हजार २ सय ४६ मत प्राप्त गरेका छन्। 

यो चुनाव क्षेत्रमा नेकपा माओवादी केन्द्रका राहुलकुमार मण्डलले ३ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेशकुमार मिश्रले १ हजार ५ सय ९२ मत र नेकपा एमालेका शरिफ रहमानले १ हजार ७९ मत प्राप्त गरेका छन्।  
 

प्रतिक्रिया