राप्रपा अध्यक्ष लिङ्देनका भाई लोकप्रिय मतले विजयी

काकडभिट्टा। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका भाई रविन्द्र लिङ्देन लोकप्रिय मतसहित हल्दिबारी गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। हल्दिबारी राप्रपा अध्यक्षको स्थायी बसोबास भएको पालिका पनि हो। रविन्द्र २०७४ को चुनावमा पनि गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। 

यसपालि उनी विगतभन्दा २ हजार ९ सय १३ मत बढी ल्याएर विजयी भएका हुन्। रविन्द्रले नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २ हजार १ सय ९० मतले पराजित गरेका छन्। गिरी यसअघि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार थिए। रविन्द्रले यसपालि ६ हजार ८ सय ५६ मत प्राप्त गर्दा गिरीले ४ हजार ६ सय ६६ मत प्राप्त गरेका हुन्। 

अघिल्लो चुनावमा रविन्द्रले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका थिए। त्यतिबेला उनी ४ सय मतान्तरले विजयी भएका थिए। 

५ वटा वडा रहेको हल्दिबारीमा उपाध्यक्ष पनि राप्रपाकी लक्ष्मीदेवी मैनालीले जितेकी छिन्। उनले एमालेकी शान्तादेवी गौतमलाई ९ सय ७२ मतान्तरले पराजित गरिन्। मैनालीले कूल ५ हजार ७८ मत प्राप्त गरेकी थिइन। गौतमको पक्षमा ४ हजार १ सय ६ मत खसेको थियो। 

हल्दिबारी गाउँपालिकाको १ र ४ नम्बर वडामा राप्रपा प्यानलसहित विजयी भएको छ। 
 

प्रतिक्रिया