नेपाली टेनिसलाई व्यवसायिक बनाउने हेम लामा रहेनन्

काठमाडौं। नेपाली टेनिसलाई व्यवसायिक बनाउन महत्वपूर्ण योगदान गर्ने बरिष्ठ प्रशिक्षक हेम लामाको आइतबार राती मुटुको समस्याका कारण निधन भएको छ। उनी ९४ वर्षका थिए। 

४० को दशकतिर तीनकुनेमा टेनिस कोर्ट निर्माण गरेर नेपाली खेलाडी उत्पादन गर्न योगदान गरेका लामालाई केही वर्षदेखि मुटुको समस्या थियो। उनको पार्थिव शरीरलाई आज ३ बजे स्वयम्भूमा बिर्सजन गरिने छोरा विजय लामाले जानकारी दिए। 

‘उहाँलाई केही वर्षदेखि मुटुको व्यथा थियो,’ लामाले दृश्यटिभीलाई बताए। ९० वर्षको उमेरमा पनि उनी गल्फ खेल्न तिलगंगास्थित रोयल नेपाल गल्फ कोर्षमा पुग्ने गर्थे। उनका तीन छोरा विजय, सूर्जे र राज आफ्नो समयको नेपालको नम्बर १ टेनिस खेलाडी थिए। छोरी पुनम लामा टेबल टेनिसकी अन्तर्राष्ट्रिय खेलाडी हुन्। 

हेमले सन् १९८४ मा ‘आदर्श नारी’ नामक फिल्मको निर्माण पनि गरेका थिए। उनी आर्थिक रूपले विपन्न परिवारका सदस्यलाई भाटभटेनीस्थित आफ्नो घरमा टेनिसको व्यवहारिक ज्ञान निःशुल्क दिने गर्थे।

प्रतिक्रिया