कालापानी क्षेत्रमा कांग्रेस खस्किँदै, एमाले–माओवादी अगाडि

दार्चुला। कालापानीको जिल्ला भनेर चिनिने दार्चुलामा गठबन्धनमा चुनाव लड्दा नेपाली कांग्रेसलाई गम्भीर धक्का लागेको छ। यहाँ पहिले २ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको चुनाव जित्दै कांग्रेसले उत्कृष्ट प्रदर्शन गरेको थियो। 

लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सालाई लिएर भारतसँग विवाद चुलिएपछि राष्ट्रियताको विषयमा आलोचना खेपेको कांग्रेसले यहाँ पनि गठबन्धनमा चुनाव लडेको थियो। तर, उसलाई गम्भीर धक्का लागेको छ। नेकपा एमालेको चर्को राष्ट्रियताको बहसमा अल्झिएको कांग्रेसले यहाँ लगभग कुनै नगरपालिका र गाउँपालिका नजित्ने सुनिश्चित झैं देखिएको छ। 

दार्चुलामा ९ पालिका छन्। जसमा महाकाली र शैलेश्वरी नगरपालिका रहेको छ। यसअघि यी दुवै नगरपालिकामा कांग्रेसले विजय हासिल गरेको थियो। यसपालि महाकाली नगरपालिकामा एमालेका नरसिंह चैसेर विजयी भएका छन्। शैलेश्वरी नगरपालिकामा पनि एमालेका विजयसिंह धामी निकै अगाडि छन्। 

बाँकी ७ वटा गाउँपालिकामध्ये यसअघि ब्यास, दुहु र मल्लीकार्जुनमा पनि नेपाली कांग्रेस विजयी भएको थियो। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमतिमा कांग्रेसले पहिले जितेको ठाउँमा कांग्रेसलाई नै दिने र एमाले र माओवादीले जितेको ठाउँमा माओवादीलाई टिकट दिने निर्णय भएको थियो। 

कांग्रेसले पहिले जितेको ब्यास, दुहुमा नेकपा एमालेसँग पछाडि परेको छ भने मल्लीकार्जुनमा निकै पछाडि परिसकेको छ। 

अपी, नौगाड र लेकम गाउँपालिका पहिले एमालेले जितेका थिए। अहिले गठबन्धनका कारण अपीमा माओवादीले जित हासिल गरिसकेको छ भने लेकम र नौगाडमा जित निश्चित छ। माओवादीले पहिले जितेको मार्मामा एमाले र माओवादीबीच प्रतिस्पर्धा देखिएको छ।

स्थानीय निकायको चुनावमा कांग्रेस समर्थकले माओवादी उम्मेदवारलाई राम्रो मत दिए पनि कांग्रेसको पक्षमा त्यो नभएको भन्दै स्थानीय कार्यकर्ता असन्तुष्ट बनेका छन्।
 

प्रतिक्रिया