मतदानमा उद्योगी व्यवसायीहरुको सक्रिय सहभागिता

काठमाडौं । लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् । देशभर आज स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो ।

यस्तै, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो । संविधान घोषणापछि दोस्रो पटक हुनलागेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु र सहभागीता जनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै व्यावसायीक संघसंस्थाले सार्वजनिकरुपमा नै आह्वान गरेका थिए ।

यसै क्रममा बैंकर, व्यवसायी तथा उद्योगीले पनि सक्रियताका साथ सहभागी भएका हुन् । निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकर सहभागी भएको तस्विर सार्वजनिक गरेका छन् । लोकतन्त्रमा आफ्ना प्रतिनिधि छान्ने अधिकार भएको भन्दै व्यवसायीले अन्य नागरिकलाई पनि मतदान गर्न आग्रह गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकर अनिल केशरी शाहले सक्रियताका साथ मतदान गरेका छन् ।

उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौँको सितापाइला स्कुलबाट मतदान गरेका छन् । अध्यक्ष गोल्छाले मतदानपछि सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् “मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।” महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले अन्य मतदातासमेतलाई सक्रियताका साथ मतदानमा भाग लिन आग्रह गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौँको थापाथलीको गुहेश्वरी माविबाट मतदान गरेका छन् । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्,“भोट हालियो, आशा गरौँ हाम्रो एक एक भोटले काठमाडौँको मुहार फेरिने छ ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले काठमाडौँ महानगरपालिका–१ नारायणीहिटी दरबार मतदान केन्द्रबाट आफ्नो अधिकारको प्रयोग गरे । उनले मतदानपछि लेखेका छन् “मैले भोट गरेँ, के तपाईंले गर्नुभयो ? यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।”

यस्तै, आइएमई समूहका प्रबन्धनिर्देशक हेमराज ढकालले काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । अन्य व्यवसायीले पनि आफ्नो पायक पर्ने स्थानमा पुगेर मतदान गरेका छन् । शहरी क्षेत्रका व्यवसायी तथा उद्योगीले आज आफ्नो व्यवसाय तथा उदोग धन्दा नै बन्द गरेर सक्रियताका साथ मतदानमा सहभागिता जनाएका छन् ।

उद्योगी व्यवसायीहरुद्वारा निर्वाचन पर्यवेक्षण

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघसहति उद्योगी व्यवसायीहरुको टोलीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न मतदान केन्द्रको निर्वाचन पर्यवेक्षण गरेको छ । त्यस क्रममा निर्वाचनको तयारी तथा मतदान प्रक्रिया व्यवस्थित रहेको र नागरिकहरु मतदानका लागि निकै उत्साहित रहेको आफूहरुले पाएको वरिष्ठ उपाध्यक्ष ढकालले जानकारी दिए ।
 

प्रतिक्रिया