मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजले मतदान गर्न पाउने

 

काठमाडौं– निर्वाचन आयोगले आज शुक्रबारको स्थानीय तह निर्वाचनमा परिचय खुल्ने कागजातबाट समेत मतदान गर्न पाउने जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने सरकारी कागजातबाट मतदान गर्न पाउने जनाएको छ। 

‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

आयोगले मतदान केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको छ। आयोगले एक सूचना जाारी गर्दै शुक्रबार हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले जनाएको छ।

तर, मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिन नहुने आयोगको सूचनामा जनाइएको छ।

प्रतिक्रिया