विद्यार्थी राजनीतिमा ३ वर्ष भूमिगत बसेका अमरेन्द्रको विराटनगरमा अग्नी परीक्षा  

विराटनगर। सन् २००३ मा उनी भारतको बिहारस्थित पटना विश्वविद्यालयमा मेडिकलका छात्र थिए। यतिबेला नेपालमा संकटकाल लागु भयो। उनले ३ वर्ष भूमिगत बस्नु पर्यो। 

अमरेन्द्र यादवको परिचय जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको छोराको मात्र होइन।

उनी आफंै विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन्। सानोमा नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई हेर्दै उनी ठूला भएका हुन्। बुवाले बाम राजनीतिमा आफूलाई समाहित गर्दा उनी सहाना प्रधानको व्यक्तित्वबाट पनि प्रभावित थिए। 

तर पटना विश्वविद्यालयमा पढ्दै गर्दा उनको राजनीतिक चेत अझै सशक्त भएको हो। उनी पटना विश्वविधालयको विद्यार्थी युनियनका निर्विरोध निर्वाचित पूर्व कोषाध्यक्ष पनि हुन्। 

उनले भारतको चण्डीगढ विश्वविद्यालयबाट फोरेन्सिक मेडिसिनमा स्नाकोत्तर गरेका छन्। ३५ वर्षको उमेरमा पाँच गठबन्धनको तर्फबाट अमरेन्द्रलाई उपमेयर उठाउने सर्वसहमत निर्णय भएपछि विराटनगरमा उनको विषयलाई लिएर अनेकौं प्रश्न उठे।

उनलाई ‘ड्याडीको छोरा’ भनेर पनि मजाक गर्न खोजियो। पहिलो पल्ट सार्वजनिक पदमा उठ्न लागेका अमरेन्द्रसँग यी सबैको जवाफ छ। तर, उनी आफूमाथि लागेको आरोपलाई चुनावमा जितेर खण्डन गर्न चाहन्छन्।
 
‘चुनाव अघि नै मेरो नैतिक जित भइसकेको छ। मविरूद्ध मुद्धा हाल्ने व्यक्ति पराजित भइसकेका छन्। अब गणितीय रूपमा चुनाव जितेर महानगरको सेवामा लाग्नु छ,’ दृश्यटिभीसँगको अन्तर्वार्तामा अमरेन्द्रले भने। 

विराटनगर महानगरपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र जसपाको तालमेल निर्णायक मानिन्छ। नेपाली कांग्रेसका नागेश कोइराला मेयर पदका प्रत्यासी छन्। 

गठबन्धनलाई नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ। 

गत चुनावमा नेपाली कांग्रेसका भिम पराजुलीले २३०३१ मत प्राप्त गर्दै मेयर तथा नेपाली कांग्रेसकै इन्द्रा कार्कीले २०१४६ मत प्राप्त गरेर उपमेयरको पद जित्न सफल भएकी थिइन्। 

यतिबेला जसपाले तेस्रो नम्बरमा मत प्राप्त गरेको थियो। यसपालि कांग्रेस र जसपाको महत्वपूर्ण पदका लागि गठबन्धन भएका कारण दुबै पार्टीका उम्मेदवारले सहजै विजय प्राप्त गर्ने अनुमान लगाइएको छ।
 
तर, अमरेन्द्रलाई अफ्ठेरोमा पार्न पुराना नेता उमेश यादवले मेयर पदमा उम्मेदवारी दिएका छन्। उनी यसअघिको चुनावमा पनि जसपाबाट मेयर पदको उम्मदेवार थिए। उनले जसपाको भोट काट्ने आँकलन गरिए पनि गठबन्धनका कारण खासै असर नपर्ने चुनाव विश्लेषकहरूको अनुमान छ।
 
‘मेरोविरूद्धमा जे जस्तो प्रचार गरिएपनि स्थानीय कार्यकर्तालाई संगठनभित्र मैले गरेको काम सबै याद छ,’ उनी भन्छन्।
 
अमरेन्द्रले २ वर्ष स्वास्थ्य मन्त्रालयमा काम गर्दा स्थानीयस्तरमा केही काम गरेका कारण उनीबाट विराटनगरवासीले अपेक्षा गरेको पार्टीका वरिष्ठ नेताहरू बताउँछन्। ‘म विराटनगर महानगरपालिकालाई महानगरकै स्वरुपमा यहाँको जनताले ग्रहण गर्ने अभियानमा छु,’ अमरेन्द्र भन्छन्, ‘मलाई एक पल्ट यहाँका जनताले पत्याएको खण्डमा युवाहरूको भावना अनुरुप काम गरेर देखाउने छु।’

पार्टीको युवा केन्द्रिय सदस्य हुँदै तीन वर्षदेखि महानगरको अध्यक्ष पदमा रहेर काम गरिरहेका अमरेन्द्रलाई जिताउन अहिले पार्टीपंक्ति मात्र होइन, पार्टी अध्यक्ष उपेन्द्र यादव पनि जोडबलका साथ लागेका छन्।  (तस्बिरमा क्रमश: नागेश कोइराला र अमरेन्द्र यादव)
 

प्रतिक्रिया