आस्थाको व्यापार 

गुम्बाको सम्पत्तिमा सांसदको रजाईं

सोलुखुम्बु। सार्बजनिक सम्पत्तिको चरम दोहन गरेर ब्यक्ति र समूहको रजाईं गर्ने प्रबृत्ति हाबी भएको छ। धार्मिक थलो, मठ, मन्दिर पाटी, पौवा, गुम्बा जस्ता सार्बजनिक सम्पत्तिमाथि पहुँचवालाले “तर” मारेर धनी भएका छन्। हो, यस्तै सार्बजनिक सम्पत्तिमा मस्ती मार्ने काम भएको छ, तेङबोचे गुम्बाको सम्पत्तिमा। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत पर्ने तेङबोचे गुम्बाको सम्पत्तिको कुनै हरहिसाब र पादर्शिता नभएको खुम्बुबासी बताउँदै आएका छन्।

सगरमाथा आधारशिविर जाँदा बाटोमा पर्ने यस तेङबोचे गुम्बा सिंगो खुम्बुबासीको आस्थाको केन्द्र मानिन्छ। जहाँ हजारांै  स्वदेशी तथा बिदेशी पर्यटकहरुले तेङबोचे गुम्बाको दर्शन गर्छन्। बौद्धमार्गीहरुको तेङबोचे गुम्बा आस्था र बिश्वासको धरोहर हो। यस्तो धरोहरमा मनोकांक्षा पुरा होस् भनेर हजारौं भक्तजनले लाखौं भेटी तथा बहुमूल्य बस्तुहरु चढाउँदै आएका छन्।

बर्षौंदेखि बहुमूल्य सामानहरु र मोटो रकमको कुनै हिसाब किताब नरहेको स्थानीय पेम्बा शेर्पाले बताए। नाङदिन (बहुमूल्य सामानहरु) चल अचल सम्पत्तिको विवरण दिनलाई स्थानीयले समिति गठन गर्न माग गर्दा नेकपा एमालेका स्थानीय नेता सोनाम ग्याल्जेन शेर्पाले नदिएको पेम्बाले बताए। नेकपा एमालेकोतर्फबाट राष्ट्रिय सभाका सांसदमेत रहेका सोनाम ग्याल्जेनको मिलीभगतमा गुम्बाको सम्पत्तिमा रजाईं भैरहको अर्का स्थानीय ल्हाक्पा शेपाले बताए। 

तत्कालिन तेङबोचे गुम्बाका औतारी लामा ङवाङ तेञ्जिन जाङबु रिम्पोचेका भाञ्जा सोनाम ग्याल्जेन शेर्पाले गुम्बाको चल अचल सम्पत्ति विवरणको छानबिन गर्न समिति बनाउन माग गर्दा नदिएको पेम्बाले बताए। स्थानीयहरुसँगको भेलामा सोनाम ग्याल्जेनले ‘तपाईंहरु पुरातत्व विभागको मान्छे होइन सम्पत्तिको बिबरण माग्ने अधिकार छैन’ भनेर चेतावनी दिएको पेम्बाले बताए। रिम्पोचेको दुई बर्ष अघि निधन भएको थियो। रिम्पोचेप्रति सारा खुम्बुबासीहरुको श्रद्धा र सम्मान थियो।
 
यति प्रख्यात र ठूलो गुम्बाको रिम्पोचेको कुनै नीजि कार र काठमाडौंमा कुनै घर थिएन। खुम्बु र खुम्बुबासीको हितमा रिम्पोचेको जीवन बित्यो। रिम्पोचेका भाञ्जा र भाञ्जाका जेठानले गुम्बाको सम्पत्तिमा मोज मस्ती गरे, नाम्चेका एक स्थानीयले भने। खुम्बुबासीको भावनालाई टेकेर गुम्बाको सम्पत्तिमा रजाईं गरिएको छ, उनले भने। 

तेङबोचे गुम्बाको सम्पत्ति हडपेर अधिकांश ठाउँहरुमा होटल, लज खोलिएको छ। एमाले नेता तथा सांसद सोनाम ग्याल्जेन शेर्पाले नाम्चेमा चलाएको चिया पसलको जग्गामा होटल निर्माण भएको छ। यसमा बिना प्रतिपस्पर्धा सोनामले उनका हितैषी साथी आङ दोर्जी शेर्पालाई २५ बर्षलाई लिजमा दिए र आफु पनि गोप्य

Tengboche 1

पार्टनर भएका छन्, ल्हाक्पा नुरु शेर्पाले सुनाए।

त्यसै गरी उनका जेठान तेञ्जिङ नुर्बु शेर्पाले  दिबुचेमा चलाएको रिभेन्डेल लज पनि गुम्बाको सम्पत्ति हो। तेञ्जिङ नुर्बु बिवाह गर्नु अघि ठावा भएर रिम्पोचेकै स्वकीय सचिब भएर काम गरेका थिए। पछि विवाह गरेपछि गुम्बाबाट निस्केर गुम्बाकै जग्गामा होटल खोेले।

लोबुचेस्थित शेर्पा होटलले चर्चेको करीब एक रोपनी जग्गा पनि सोनाम ग्याल्जेनले नीजि बनाएर भोगचलन गरेको आरोप नाम्चेका अर्का स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने। पहिला सोनामको दिदिले सञ्चालान गरेको लज पछि उनकै नाममा ल्याएको लुक्लाका एक होटल ब्यवसायीले बताए। 

गुम्बामा लप्प्राङको बहुमूल्य सामानहरु हुन्छन् र त्यसको हरहिसाब हेर्ने पाउनुपर्छ भन्दा सोनाम ग्याल्जेन शेर्पाले  रिम्पोचे जीवित हुँदै उहाँकै अघि कसैलाई हेर्ने अधिकार नभएको र कुनै समिति पनि नबन्ने अडान लिए, स्थानीय पेम्बाछिरी शेर्पाले भने।

रिम्पोचे बस्ने ठाउँलाई लप्प्राङ भनिन्छ। तेङबोच गुम्बामा भक्तजनले सुन, चाँदी, जी र मोटो रकम चढाउँछन्। त्यसको हरहिसाब छैन, उनले भने। लोपेनले गुम्बाको अध्यक्षता गर्छन् भने गेर्कु सचिब र ङेर्वा कोषाध्यक्ष हुन्छन्। यी सबै पदाधिकारीहरु सोनाम ग्याल्जेनको इशारामा चलेका थिए, शेर्पाले भने।

स्थानीयबासीले तीन चार बर्ष पहिला गुम्बाको सम्पत्ति स्थानीय सरकारलाई जिम्मा दिएर रेखदेख गर्न माग गर्दा सोनाम ग्याल्जेनले बिरोध गर्दै प्रशासनले थाहा पाउँछ भनेर भेलामा भनेको स्मरण गर्दै तेञ्जिङ टासी शेर्पाले भने। यसरी गुम्बाको सम्पत्ति पारिवारिक बनाएर रजाइँ गर्न मिल्दैथ्यो होला शेर्पाले प्रश्न गरे। तेङबोचे उपत्यका नै गुम्बाको सम्पत्ति हो।

गुम्बाको सम्पत्ति फुङ्गिठाङमा छ, थुक्लामा छ, दिबुचेमा छ, लोबुचेमा, फेरिचे, लगायतका खुम्बुका प्रायजसो ठाउँमा गुम्बाको सम्पत्ति छ। यसरी गुम्बाको सम्पत्तिमा रजाईं गर्नेहरु भने पहुँचवाला र टाठाबाठा देख्दा दुःख लाग्छ, टासीले भने। रिम्बोचेले खुम्बुबासीको हित र कल्याणकारी काम गरे। दुःखका साथ भन्नु पर्छ गुम्बाको सम्पत्तिमा भने भाञ्जाले सम्पत्तिमा रजाईं गरीरहेका छन्। तेङबोचे गुम्बाको सम्पत्ति अर्बौंको हुँदा पनि रिम्पोचेको काठमाडौंमा कुनै बगला कार थिएन्।”

Tengboche gomba

तेङबोचेको टासी देले लज रिम्पोचका भाञ्जा र भाई भएर दुरुपयोग गरेका छन्, तेञ्जिङ टासी शेर्पाले भने। तेङ नुरु शेर्पाले लामाको बस्त्र लगाएर र सोनामले राजनीतिक आवरणमा सारा खुम्बुबासीको आस्थाको केन्द्र तेङबोचे गुम्बाको सम्पत्ति हडप्ने कर्म गरे, उनले भने।

लप्राङले लामाको रेखदेख गरे जस्तै च्यासाले समग्र गुम्बाको जग्गाको संरक्षण गर्नुपर्ने हुन्छ। तर कसैको इशारामा च्यासा ब्यापारिक प्रयोजनको लागि लोबुचेतिर जग्गा खोज्दै हिँडेको खबर आएको थियो। जसरी पशुपतिनाथमा भक्तजनहरुले चढाएको भेटीको पारदर्शिता हुन्छ, त्यसैगरी तेङबोचे गुम्बाको पारदर्शिता हुनुपर्ने माग हामी खुम्बुबासीहरुको छ, खुम्जुङका एक स्थानीयवासीले भने, सयौं बर्ष पुरानो गुम्बा र विश्वले चिनेको गुम्बाको सम्पत्तिको चरम दुरुपयोग हुनु सारै दुःखको कुरा हो।

गुम्बाको सम्पत्तिको हिनामिना र दुरुपयोग भएको बिषयमा पटक पटक कुरा गर्न खोज्दा एमाले नेता तथा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा पछि भेट्ने भन्दै तर्किए। स्थानीय चुनावपछि मात्रै भेट्ने भनेर टारिरहे। 


 

प्रतिक्रिया