गिरिराजमणिको चुनौति बन्दै बलम्पाकी

महोत्तरी। बर्दिबास यसै पनि कम्युनिस्टहरूको गढ मानिन्छ। कुनैबेला निर्मला लामा, मोहन विक्रम सिंह, जय गोविन्द साहदेखि इश्वर पोखरेलसम्म सक्रिय यो ठाउँ यतिबेला दुई ध्रुवमा विभाजित कम्युनिस्ट घटकहरूका कारण रोचक मोडमा पुगेको छ। 

अझ श्रीमान् नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदबार र श्रीमती माओवादी केन्द्र मातहतको अखिल नेपाल महिला संघको केन्द्रिय उपाध्यक्ष हुनुले यहाँको चुनावलाई थप रोचक बनाएको छ। 

अघिल्लो चुनावमा यो क्षेत्रबाट माओवादीका विदुर कार्कीले मेयर पदको चुनाव जितेका थिए। माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पनि यही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेका थिए। 

माओवादीका यी दुवैलाई स्थानीय तथा केन्द्रिय चुनावमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका टेक बहादुर बलम्पाकी अहिले नेकपा एमालेको तर्फबाट यहाँ मेयर पदका उम्मेदवार छन्। गत वर्ष नेकपा डबल विभाजित हुँदा बलम्पाकी माओवादीका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगै एमालेमा समाहित भएका थिए। 

एमालेको चितवन महाधिवेशनमा उनी केन्द्रिय सदस्यमा निर्वाचित भए। उनकी श्रीमती सीता दाहाल हाल माओवादी केन्द्रमै छिन्। त्यसैले यहाँको चुनावलाई ‘श्रीमान भर्सेस श्रीमती’ को रूपमा पनि हेरिएको छ। 

बलम्पाकीको पुरै परिवार २०२८ सालदेखि चौथो महाधिवेशनमार्फत बाम राजनीतिमा सक्रिय छन्। जनजातीहरूको बाहुल्य रहेका कारण निर्मल लामाले यहाँ दह्रो संगठन विस्तार गरेका थिए। बलम्पाकीका बुवा होम बहादुर बलम्पाकी मात्र होइन, उनका छोराहरू बलबहादुर, नलबहादुर र केशरबहादुरले पनि बाम राजनीतिमा पसिना बगाइसकेका छन्। 

उनले माओवादी पार्टी परित्याग गर्नुअघि यहाँ एमालेको संगठन कमजोर मानिन्थ्यो। तर, उनको प्रवेशसँगै एमाले बलियो भएको मान्नेहरूको कमि छैन। संगठन निर्माणमा निपूण मानिने बलम्पाकी २०५१ सालमै एकता केन्द्रको तर्फबाट महोत्तरी हेर्ने सचिव भइसकेका थिए। उनी जनयुद्धकालदेखि नै नेकपा माओवादीमा सक्रिय थिए। 

माओवादीको सांस्कृतिक फाँटमा रहेर काम गरिसकेका बलम्पाकी कुशल रचनाकार पनि मानिन्छन्। उनी माओवादीको अखिल नेपाल जनसांस्कृतिक महासंघको अध्यक्ष हुँदै पार्टी परित्याग गर्दा सबै जिल्ला हेर्ने गरी काठमाडौं जनसम्पर्क समितिको अध्यक्ष नियुक्त भइसकेका थिए। 

सामान्य जीवन बिताउने कारण उनी स्थानीय माझ लोकप्रिय पनि छन्। तर, उनको लोकप्रियता बाम राजनीतिमा आएको विभाजनका कारण कति असरदार हुने हो, चुनावको नतिजाले बताउने छ। 

यो क्षेत्रबाट राष्ट्रिय राजनीतिमा गिरिराजमणिको पकड कायम छ। त्यसैले मेयर पदमा बलम्पाकीको जितले गिरिराजमणिको राजनीतिक जरालाई हल्लाउन सक्ने सम्भावना पनि प्रबल छ। माओवादीले यो क्षेत्रमा राजु खड्कालाई मेयरको उम्मेदवार बनाएको छ। 
     
 

प्रतिक्रिया