स्थानीय निर्वाचन: प्रचारको फाईनल रेस बिराटनगरबाट

काठमाडौं। पाँच दलीय गठबन्धनको नेता दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनको ‘फाइनल रेस’ प्रदेश एकको राजधानी बिराटनगरबाट सुरु गरेको छ। गठबन्धनका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिराटनगरबाट निर्वाचन प्रचार प्रशारको देशव्यापी अन्तिम अभियानको थालनी गर्नेभएका छन्। बिराटनगरपछि देशका अरु प्रदेशमा पनि यस्तै सभा गर्ने गठबन्धनले जनाईसकेको छ। 

बिराटनगरको सभा भने नेपाली कांग्रेसको एक्लो सभा जस्तो हुने छ। सभापति देउवा,   नेता रामचन्द्र पौडेल, महामन्त्री विश्व प्रकाश शर्मा र बिराटनगर महानगरका उम्मेदवार नागेश कोइराला प्रमुख वक्ता हुने छन्।  जहाँ गठबन्धनका अरु मुख्य नेता माओेवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने छैनन्। 
 
चर्चामा रहेको भरतपुर महानगरको निर्वाचन प्रचार सभामा भने प्रधानमन्त्री देउवा सहित अरु मुख्य गठबन्धन दलका नेताको पनि सहभागिता रहेन बुझिएको छ।

बिराटनगरमा नेपाली कांग्रेस एक्लै बलियो देखिएकाले हुनसक्छ अरु दलका नेताले भाग लिन आवश्यक ठानिएन। तर अरु प्रदेशमा भने गठबन्धनका मुख्य नेताले निर्वाचन सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

मुख्य विपक्षी दल नेकपा एमाले पनि निर्वाचन सभाहरु जारी राखेको छ। उसले गठबन्धन विरुध्द चर्का टिप्पणी गर्दै प्रचार अभियान अघि बढाईरहेको छ। आफू सरकारमा रहँदा भएका ठूला आर्थिक अनियमितता र नीतिगत त्रुटीहरुलाई ओझेलमा पार्ने गरी एमालेले पाँच दलीय गठबन्धनमाथि विरोध केन्द्रित गरिरहेको देखिन्छ।

यता नेपाली कांग्रेस आफैं भने आन्तरिक विवादमा अल्मलिएको देखिन्छ। भरतपुर महानगरमा जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीले गठबन्धनमै नकारात्मक असर पुग्ने र माओवादी केन्द्रको अन्य क्षेत्रमा सहयोग नहुने पो हो कि भन्ने कांग्रेसमा भय देखिन्छ। माओवादी केन्द्र पनि भरतपुरको अवस्थाले प्रचण्ड पुत्री रेनुले महानगरको नेतृत्व दोहोर्याउने लक्ष्य अधुरै रहन सक्ने सम्भावित जोखिमबाट सन्त्रस्त छ। 

मुख्य रुपमा राष्ट्रिय राजनीतिकै चर्चाको बिषय बनिरहेको भरतपुपर महानगरमा विपक्षी दल एमालेले खेल्ने रणनीतिक खेलसँग गठबन्धन दलका मुख्य नेता बढी सतर्क देखिएका छन्। 

निर्वाचन प्रचारको फाइनल रेस सुरु हुँदै गर्दा स्थानीय तहमा भने आवश्यकता अनुसार दलहरुवीच गठबन्धन सुरु भएको छ। यस्तो गठबन्धनले केन्द्रीय गठबन्धनलाई असर नपर्ने नेताहरु बताईरहेका छन्। पाँच दलीय गठबन्धन मात्र होइन एमाले र अरु दलहरु मिलाएर सबै दलका नेताहरुलाई नेतृत्वमा ल्याउने गरी पनि स्थानीय गठबन्धन भैरहेको देखिन्छ।

विराटनगरमा हुने आमसभालाई प्रधानमन्त्री   देउवा लगायतका नेताले सम्बोधन गरेपछि स्थानीय तहका गठबन्धनले थप आकार लिने देखिन्छ।
 
मौन अवधि सुरु हुनुअघिसम्म देशका १० शहरमा आमसभा गर्ने कांग्रेसको तयारी छ। यसमा आवश्यकता अनुसार गठबन्धन नेताहरु सहभागी हुने बताईएको छ।

माओवादी केन्द्र र एकिकृत समाजवादीले पनि आफ्नो संगठबन अनुसार छुट्टै प्रचार अभियान पनि सञ्चालन गरिरहेका छन्।
 

प्रतिक्रिया