वर्ष ०७९ को पहिलो घुस खाने हेड सर अख्तियारको नियन्त्रणमा

काठमाडौं। नयाँ वर्षको पहिलो घुस नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाका नाउँमा एकजना प्रधानअध्यापक र औषधि पसल सञ्चालक मिलेर खाएछन्।

रौतहटको जोकहा, घिउरामा रहेको विश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानअध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झा मिलेर तीन लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्ता लाएको छ। उनीहरु दुवैजनालाई घुसको रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
यो घुस नयाँ वर्ष २०७९ को पहिलो घुसको रेकर्डमा परेको छ। 

त्यसपछि पाँच लाख घुस खाएछन् भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाले। उनलाई पनि त्यो घुस रकम सहित आयोगले नियन्त्रणमा लिएको छ।   

नगद नलिए पनि नीतिगत अनियमितता गर्ने सरकारी कर्मचारीको ठूलै संख्या वर्षको पहिलो महिनामै कार्बाहीको दायरामा परेको छ। डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर वुढथापा, सव–इन्जिनियर तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना विरुध्द गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको छ।

करोडमा परेका नायव सुब्बा

एकजना नायव सुब्बा त झण्डै दुइ करोडको अनियमितताको आरोपमा कानूनी फन्दामा परेका छन्। भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाडौंमा नायव सुब्बा (हाल निलम्बन) देवी बहादुर थापामाथि १ करोड ८७ लाख ४७ हजार  १४९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी आरोप–पत्र दायर भएको छ।
     
मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महत पनि १ लखा ५० हजार घुस रकमसहित नियन्त्रणमा परेका छन्।     

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत ६४ जनामाथि गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप–पत्र दायर भएको छ।

गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत ७ जना विरुध्द गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको छ।

प्रदेश कार्यालयमै अनियमितता

तत्कालीन प्रदेश नं. ५ बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसमेत ४ जना एवं संस्था उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको छ। उनीहरुले ४३ लाख ३७ हजार ५०० हिनामिना गरेका छन्।

प्रहरी नै नियन्त्रणमा

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतो ३८हजार घुस रकमसहित नियन्त्रणमा परेका छन्।    
 
अर्घाखाँची साविक ठाडा गा.वि.स. वडा नं १, का तत्कालिन गा.वि.स सचिव हिम बहादुर भाट, सव–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको छ।
     
सप्तरीको बलान बिहुल गाउँपालिकाका उप–प्रमुख रुवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत एवं उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना विरुध्द गैरकानूनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको छ।

मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीले त २० हजार पनि छोडेनछन्। उनलाई घुसको रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।   
 

प्रतिक्रिया