इलाममा एमालेमा उम्मेदवार चयनको विषयमा विवाद

रोहितचन्द्र भट्टराई, इलाम । नेकपा एमालेले इलामका स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने क्रममा पार्टीभित्र विवाद बढेको छ । असन्तुष्ट कार्यकर्ताले इलाम नपास्थित पार्टीको जिल्ला कार्यालय र माई नपास्थित पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन् ।

इलाम नपाको प्रमुखमा नरेन्द्रनाथ भट्टराई र उपप्रमुखमा चित्रमाया गुरुङ तथा माई नपामा प्रमुखमा खम्बसिंह लिम्बू र उपप्रमुखमा हिमा भण्डारीलाई उम्मेदवार बनाउने चर्चा चलेपछि कार्यकर्ताको असन्तुष्टि बढेको हो । उनीहरुले हिजो शनिबार बेलुका सदरमुकामको जिल्ला पार्टीको कार्यालय र आज बिहान माई नपा पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

एमालेले अन्य आठ पालिकामा पनि प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्याईसकेको छ । सूर्योदय नपामा काजीमान कागते र दुर्गादेवी भट्टराई, देउमाई नपामा सूर्य पोख्रेल र पविमाया राई, सन्दकपुर गापामा उदयबहादुर राई र शोभा पराजुली, माईजोगमाईमा कुशबहादुर थेवे र सावित्रा भट्टराई, रोङमा मेहेरमान तामाङ र बिष्णुमाया खवास, चुलाचुलीमा ओमनारायण खनाल र दिलु लावती, माङ्सेबुङमा हेमन्त राई र सुनिता सुब्बा तथा फाकफोकथुममा दिपेन्द्र खनाल र कल्पना राईलाई क्रमशः प्रमुख र उपप्रमुखमा एमालेले उम्मेदवार बनाएको छ ।
 

प्रतिक्रिया