जुम्लामा आगलागी, चार बालबालिकाको मृत्यु

जुम्ला- तिला गाउँपालिकाका-३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ।

आगलागीबाट मानसीं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको  प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाकाे सूचना शाखाले जनाएकाे छ।

घरमा आएका पाहुना छाेड्न गएका बाबुआमा फर्केर आउँदा घर जलिरहेकाे देखेका थिए। प्रहरीलाई आगलागीबारे राति ११ः४५ बजे जानकारी भएकाे थियाे।

आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरूपले क्षति भएको प्रहरीले जनाएकाे छ ।

घरमा आगलागी भएकाे देखेर बेहाेस भएका मानसीं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरिएकाे छ।

घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया