कागज अभावले गोरखापत्रको भविष्य अन्योलमा 

काठमाडौं। देशकै जेठो पत्रिका गोरखापत्र छाप्ने कागज (न्यूजप्रिन्ट) को अभावमा दैनिक प्रकाशन नै बन्द हुने अवस्थामा पुगेको थाहा भएको छ। १२२ वर्षअघि सुरु भएको यो पत्रिका आफ्नो वार्षिक उत्सव मनाउन लागेकै बेला यस्तो संकटमा परेको छ। 

व्यवस्थापन र सम्पादकीय नेतृत्ववीच समन्वय अभाव र खरिद कार्यमा हुने व्यक्तिगत स्वार्थले समयमै न्यूजप्रिन्टको जोहो हुननसकेको कुरा गोरखापत्र संस्थान सम्बध्द जानकार सूत्रले बताएको छ।

गोरखापत्रले यही वैशाख २४ गते प्रकाशनको १२२ औं वार्षिक उत्सव मनाउन गैरहेको छ। यतिबेला संस्थानसँग अत्यावश्यक मात्रामा न्यूजप्रिन्ट नभएको र तत्काल त्यसको व्यवस्था हुने सम्भावना पनि नरहेको बुझिएको छ। संस्थान नेतृत्व र लामो समयदेखि त्यहाँभित्र नेतृत्व फेरिँदैपिच्छे चलखेल गर्न अप्पिस  कर्मचारी (पत्रकार) ले समयमै टेण्डर आह्वान गरेर न्यूजप्रिन्टको बन्दोबस्त नगरेको देखिन्छ। सत्तामा रहेका दलका नेताहरुको प्रत्यक्ष परोक्ष दवाव र न्यूजप्रिन्ट खरिदमा हुने मोटो कमिसनको चक्करले सिंगो संस्था नै प्रभावित हुन पुगेको एक पूर्व सञ्चालक सदस्यले बताए।

अहिलेको न्यूजप्रिन्ट अभाव टार्न व्यवस्थापन र सम्पादकीय नेतृत्वले वैकल्पिक व्यवस्था गर्न नसक्ने र त्यसका लागि सरकारले नै हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने ती सदस्यको भनाई छ। त्यसो हुननसके गोरखापत्र र यसको अंग्रेजी प्रकाशन वैशाख १५ देखि नियमित हुने कि नहुने भन्नेबारे यसै भन्न नसकिने गोरखापत्र प्रशासन सूत्रले बतायो।

‘१२२ वर्षको इतिहास भएको गोेरखा पत्र र ५५ वर्षको दि राईजिङ नेपाल न्यूजप्रिन्टकै अभावले मात्र बन्द हुने अवस्था आयो भने त्यो नेपालको पत्रकारिता इतिहासकै दुर्लभ घटना हुनेछ। संस्थानको वर्तमान व्यवस्थापन र सम्पादकीय नेतृत्वको करिअरमा पनि यो एउटा थामिनसक्नुको अनौठो रेकर्ड पनि हुनेछ’ संस्थानका एकजना पूर्व सञ्चालक सदस्यको प्रतिक्रिया छ।

गोरखापत्र संस्थानसँग पत्रिका छाप्ने न्यूजप्रिन्टको सख्त अभाव हुन लागेको अवस्था आईसक्दा पनि त्यसको व्यवस्थापन गर्ने तर्फ कार्यकारी अध्यक्ष विष्णु सुवेदी नेतृत्वको सञ्चालक समितिको ध्यान नपुगेको बताईन्छ। अहिले सूचना तथा सञ्चार मन्त्रीसँग हारगुहार गरेर न्यूजप्रिन्ट जुटाउने प्रयाश गरेपनि तत्काल कुनै पनि व्यापारीले न्यूजप्रिन्ट दिन तयार नभएको अवस्था छ। व्यवस्थापन समितिले न्यूजप्रिन्ट व्यवस्थापनको दीर्घकालिन तयारी र ढुवानीको प्रवन्ध गर्न नसकेको संस्थानकै प्राविधिक सूत्र बताउँछ। 

गोरखापत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा हालका प्रधान सम्पादक शिवकुमार भट्टराई न्यूजप्रिन्टको समस्या भएको स्वीकार्दै पत्रिका नै बन्द हुने अवस्था नआउने दावी गर्छन्। अहिलेको व्यवस्थापनमा उनको चलखेल असरदार रहने गरेको गोरखापत्रकै पत्रकारहरु बताउँछन्। कतिपय अवस्थामा कार्यकारी अध्यक्ष सुवेदीको कार्यक्षेत्रमा पनि भट्टराई नै हावी हुनेगरेको चर्चा छ। 

एमाले सरकारका पालामा कार्यकारी अध्यक्ष रहेका कृष्णमुरारी भण्डारीको राजीनामा पछि रिक्त स्थानमा छोटो समय व्यवस्थापनको  जिम्मेवारी पाएका शिव भट्टराईले त्यतिबेलै न्यूजप्रिन्टको अभावमा वितरण कटौति गरेका थिए। भट्टराईले आफैंलाई प्रधान सम्पादक नियुक्त गर्ने निर्णय गराएपछि सञ्चार मन्त्रालयमा मन्त्री समेत नियुक्त नभैसकेको अवस्थामा सुवेदी कार्यकारी अध्यक्ष नियुक्त भएका थिए।  

गोरखापत्र नियमावली अनुसार, ३०० मेट्रिक टन न्यूजप्रिन्ट सधैं जगेडामा हुनैपर्छ। तर अहिले बढीमा १५ दिनलाई पनि पुग्ने न्यूजप्रिन्ट संस्थानसँग जगेडा नभएको बुझिएको छ। गोरखापत्रको काठमाडौं प्रकाशनका लागि दैनिक १५ सय केजी न्यूजप्रिन्ट चाहिन्छ। बिराटनगर र कोहलपुरका लागि पनि डेढ सय केजी न्यूजप्रिन्ट दैनिक आवश्यक पर्दछ। वार्षिक ६०० मेट्रिक टन न्यूजप्रिन्ट खपत गर्ने गोरखापत्रको केन्द्रीय प्रकाशनसँग अहिले चानचुन १३ मेट्रिक टन न्यूजप्रिन्ट स्टक रहेको बताईएको छ। न्यूजप्रिन्टको अभाव सुरु भएपछि गोरखापत्रमा कार्यरत र अवकाश पाएका सम्पादक तथा कर्मचारीलाई तीन साता देखि पत्रिका दिन बन्द गरिएको बुझिएको छ।

कार्यकारी अध्यक्ष सुवेदी र प्रधान सम्पादक भट्टराईले यसअघि नै प्रिन्टसेल इमेज नामको कम्पनीलाई दिएको टेन्डर खारेज गरी अरु ससाना कम्पनीलाई कागज खरिद गर्न दिएका कारण अहिले यस्तो समस्या आएको जानकार सूत्रहरु बताउँछन्। प्रिन्टसेल ठूलो क्षमताको कम्पनी हो त्यसैले उसँग न्यूजप्रिन्टको भण्डारण भैरहन्छ। तर सुवेदी र भट्टराईले राजनीतिक दवावमा परेर उसँग न्यूजप्रिन्ट खरिद नगरेर राम कार्की नामका व्यवसायीलाई न्यूजप्रिन्ट आपूर्ति गर्ने ठेक्का दिए। १४० मेट्रिक टन न्यूजप्रिन्ट खरिदको ठेक्का पाएका कार्कीले २३ लाख रुपैंयाँ घाटा हुने कारण देखाउँदै आफूले धरौटी वापत जम्मा गरेको ८ लाख समेत माया मारेर गएको संस्थानभित्रै चर्चा चलेको थियो।

ठूलो व्यवसायिक कम्पनीसँग कारोबार नगरेर नेता खुशी पार्न ससाना कम्पनीको भरपर्दा न्यूजप्रिन्टको अभाव आईपरेको देखिएको छ। न्यूजप्रिन्ट जगेडा गर्न नसक्ने व्यापारीको भरपर्नाले यस्तो अवस्था उत्पन्न भएको देखिन्छ।

यसअघिको व्यवस्थापनले वार्षिक १२ हजार मेट्रिक टन न्यूजप्रिन्ट खरिद गरेर आफूसँग जगेडा समेत राख्ने गरेको एक पूर्व सदस्य बताउँछन्। ८१ हजार प्रति मेट्रिक टन मूल्यको न्यूजप्रिन्ट समयमै खरिद नगरेर अहिले त्यही न्यूजप्रिन्टको मूल्य १ लाख ५५ हजार प्रति मेट्रिक टन पुगेको छ। अब खरिद गर्दा संस्थानले ठूलो मूल्य महँगी वापत चुकाउनुपर्ने भएको छ। 

अरु सबै प्रकाशन बन्द भैहाले भने पनि सरकारी प्रकाशन चैं बन्द हुन दिनु हुँदैन भनेर जहिले पनि न्यूजप्रिन्ट मौज्दातमा रहने गरेको संस्थान व्यवस्थापनका एक सदस्यले सुनाए। तर न्यूजप्रिन्टकै अभावमा पत्रिका छपाई घटाएका कारण वितरण संख्या पुग्न नसकैले प्रेस काउन्सीलको वर्गिकरणबाट समेत गोरखापत्र वञ्चित हुनपुगेको थाहा भएको छ।

संस्थान व्यवस्थापनको कमजोरीबाट लाभान्वित हुने लेखा शाखा, प्रशासन र स्टोरका कर्मचारी पनि न्यूजप्रिन्टको अभावमै रमाउने गरेको बुझिएको छ। छोटो समयमा चर्को मूल्य चुकाएर न्यूजप्रिन्ट खरिद गर्दा हात पर्ने मोटो कमीसन र अन्य लाभबाट उनीहरु वञ्चित हुन रुचाउँदैनन् भनेर संस्थानभित्रै चर्चा हुने गरेको छ। सम्पादकीय नेतृत्व र व्यवस्थापन टिम समेत यस्ता कारोबारबाट सबैभन्दा बढी लाभान्वित हुने गरेको जानकार सूत्रले बताएको छ। 
 
 

प्रतिक्रिया