सञ्जय दत्तको क्यान्सर अनुभवः सन्तानको बारेमा सोचेर तीन घण्टासम्म रोएको थिएँ

काठमाडौं– सञ्जय दत्त अभिनित ‘केजिएफ २’मा अधिराको भूमिकामा छन्। गत बिहीबारबाट प्रदर्शनमा आएको उक्त फिल्मले अहिले सिनेमा हलमा निकै चर्चा कमाइरहेको छ।

फिल्म चर्चामा रहँदा अहिले अभिनेता सञ्जय दत्तको व्यक्तिगत जीवन पनि चर्चामा छ। हालसालै सञ्जय दत्तले एक अन्तर्वार्तामा आफूलाई क्यान्सर भएको थाहा पाउँदाको अनुभव सुनाएका छन्।

अन्तर्वार्तामा दत्तले आफूलाई लकडाउनको समयमा क्यान्सरबारे थाहा भएको बताएका छन्। उनले भनेका छन्, ‘घरको भर्‍याङमा चढ्दा मलाई श्वास लिन गाह्रो भएको थियो। नुहाउँदा पनि त्यो समस्या भयो। मलाई के भएको थाहा थिएन्। मैले तत्कालै आफ्नो डक्टरलाई भन्दा उनले एक्सरे गर्न भनेका थिए। एक्सरेमा मेरो फोक्सोमा पानी भरिएको देखियो। टिबी भएको आशंकामा त्यो पानी निकालेपछि सबै ठीक हुने सोचेको थिएँ। तर, त्यो क्यान्सर रहेछ।’

दत्तले आफूलाई क्यान्सर भएको सबैभन्दा पहिले आफ्नो बहिनीलाई सुनाएको बताएका छन्। आफूलाई क्यान्सर भएको थाहा भएसँगै उनले श्रीमती, सन्तान र आफ्नो जीवनको बारेमा सोचेर घण्टौंसम्म रोएको बताएका छन्। उनले भनेका छन्, ‘जब मलाई क्यान्सर भएको थाहा भयो, अब के गर्ने भनेर डर लाग्यो। सन्तान, श्रीमती र जिन्दगीको बारेमा सोचेर दुई तीन घण्टासम्म रोएको थिएँ। त्यसपछि मलाई आफू कमजोर हुनु हुँदैन भन्ने लागेको थियो।’

अभिनेता दत्तले दुबईमा गएर कीमोथेरापी गरेका थिए। उनी दैनिक तीन घण्टासम्म ब्याटमिन्टन खेलेर समय कटाउँथे। निरन्तरको कसरत र चिकित्सकीय उपचारबाट सञ्जयले आफू ठीक भएको बताएका छन्।

प्रतिक्रिया