नेटो सदस्यताबारे चाँडै निर्णय लिने तयारीमा फिनल्याण्ड

काठमाडौं– फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पश्चिमा सैन्य संगठन नेटोको सदस्यताका लागि आवेदन दिने नदिनेबारे आफ्नो देशले अबको केही हप्तामै निर्णय लिने बताएकी छन्।

स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा मरिनले नेटो सम्बन्धी निर्णयका लागि ढिलाइ गर्नु पर्ने कुनै कारण नरहेको बताएकी हुन्।

स्वीडेनले पनि नेटो सदस्यताबारे गम्भीर रुपमा सोचिरहेको प्रधानमन्त्री एन्डर्सनले बताएकी छन्। उनले आउँदो जुनको अन्तिममा हुने नेटो सम्मेलनका बेला सदस्यताका लागि आवेदन दिने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनमाथि रुसले गरेको आक्रमणसँगै फिनल्याण्ड र स्वीडेनमा नेटो सदस्यता लिनु पर्ने पक्षमा जनमत बढेको छ।

रुसले भने नेटो सदस्यतालाई लिएर पछिल्लो केही हप्तादेखि दुई देशलाई चेतावनी दिँदै आएको छ। फिनल्याण्ड र रुसबीच १३ सय ४० किलोमिटर लामो सीमा छ।

प्रतिक्रिया