जी–७ को सम्मेलनमा भारत ‘आउट’ हुन सक्ने

काठमाडौं। युक्रेन युद्धमा रुसको पक्ष लिएको भन्दै विश्वका शक्तिशाली राष्ट्रहरूको सम्मेलन जी–७ मा भारतलाई निम्तो दिने सम्भावना न्युन हुँदै गएको छ। जर्मनीमा यो सम्मेलन २६–२८ जुनमा हुँदैछ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गर्ने कि नगर्ने भन्ने कुराको टुँगो लागिसकेको छैन। 

ब्लुमबर्गको रिपोर्ट अनुसार जर्मनीको बवेरियामा आयोजना हुने सम्मेलनमा सेनेगल, दक्षिण अफ्रिका र इन्डोनेशियालाई अतिथिको रूपमा निम्तो गर्न लागिएको छ। तर, भारतलाई निम्तो गर्ने विषयमा कुनै निर्णय नभएको ब्लुमबर्गमा प्रकासित समाचारमा उल्लेख छ। 

अतिथिको सूची युक्रेनमा रुसले आक्रमण गर्नुअघि नै तयार पारिएको थियो। त्यतिबेला भारतको नाम पनि सूचीमा समावेश थियो। तर, रुस–युक्रेन युद्धको ५० दिनपछि पुनः अतिथिको नाम बारे चर्चा हुँदा भारतलाई निम्तो गर्ने विषयमा मतभेद देखिएको छ। 

भारतले रुसविरूद्ध संयुक्त राष्ट्र संघ (युएन) मा भएको कुनै पनि भोटिङमा भाग लिएको छैैन। युएनको मानव अधिकार समितिले रुसको सदस्यता निलम्बित गर्न डाकेको बैठकमा पनि भारत अनुपस्थित भएको थियो। 

अमेरिका लगायत विश्वका धेरै देशले रुसविरूद्ध आर्थिक नाकाबन्दी लगाएका छन्। तर, भारत रुससँग कच्चा तेललगायत हतियार खरिद गरिरहेको छ। यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर असन्तुष्टी जाहेर गरिसकेका छन्। 

जर्मनी सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले जी–७ मुलुकको बैठकमा अतिथिको नाम छिट्टै तय गर्ने बताएका छन्। प्रवक्ता हेबेस्ट्रेटले जर्मनीका चान्सलरको भनाई दोहर्याउँदै जर्मनीको धेरै अन्तर्राष्ट्रिय साझेदारहरू रुसविरूद्ध मोर्चाबन्दीमा भएको स्पष्ट पारे। यद्यपि उनले भारतविरूद्ध कुनै प्रतिक्रिया जनाएनन्। 

जर्मनीको उर्जा आयातमा रुससँगको परनिर्भरताको विषयमा पनि आलोचना नभएको होइन। युक्रेन र पोल्याण्डले यसअघि जर्मनीको आलोचना गरेका थिए। जर्मनीसमेत थुप्रै युरोपेली देश उर्जा आयातमा रुससँग निर्भर छन्। 
 

प्रतिक्रिया