न्यूयोर्कको सबवे स्टेशनमा गोली चल्यो, २० जना घाइते

काठमाडौं– अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा रहेको सबवे स्टेशनमा भएको गोलीकाण्डमा कम्तीमा २० जना घाइते भएका छन्। मंगलबार स्थानीय समयअनुसार बिहान ८ः३० बजे सनसेट पार्कको ३६औं स्ट्रीट स्टेशनमा गोली चलेको हो।

स्थानीय सञ्चारमाध्यमले घटनास्थलका तस्बिरहरूमा यात्रुहरू स्टेशनको भुइँमा रगतको पोखरीमा लतपतिएको देखाएका छन्। घटनास्थलमा बिस्फोटक पदार्थ पनि फेला परेको छ।

यसैबीच गोलीकाण्डमा संलग्न भएको आरोपमा न्यूयोर्क प्रहरीले एक संदिग्ध व्यक्तिको परिचय खुलाएको छ। प्रहरीले आक्रमणको सम्बन्धमा ६२ वर्षीय फ्रान्क आर जेम्सलाई खोजिरहेको बताएको छ।

प्रहरीका अनुसार उनले यु–हल भ्यान भाडामा लिएका थिए, जुन गोलीबारीसँग सम्बन्धित हुन सक्छ। प्रहरीले सबवेबाट आक्रमण भएको स्थानमा भ्यानको चाबी फेला पारेको छ।

न्यूयोर्क प्रहरी विभागका प्रमुख जेम्स एसिगले भने, ‘हामी उनको घटनासँग कुनै सम्बन्ध छ कि छैन भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौं।’

प्रहरीले यस विषयमा कुनै जानकारी भए दिन सर्वसाधारणलाई आग्रह गरेको छ। केही प्रत्यक्षदर्शीहरूले संदिग्ध आक्रमणकारीको बारेमा भनेका– उसले सुन्तला रंगको निर्माण भेस्ट र सम्भवतः ग्यास मास्क लगाएको थियो। 

प्रतिक्रिया