पश्चिमाको ध्यान युक्रेनमा रहेको बेला चीनले बेच्यो एच क्यू-२२ मिसाइल

काठमाडौं– चीनले रुसको सहयोगी सर्बियालाई यस हप्ताको अन्त्यमा आधुनिक एन्टी-एयरक्राफ्ट सिस्टम एच क्यू-२२ प्रदान गरेको छ। चीनले यो सम्झौता निकै गोप्य रुपमा गरेको थियो। अमेरिकालगायत पश्चिमी मुलुकको ध्यान युक्रेन युद्धमा क्रेन्द्रित रहेको बेला चीनले यो हतियार प्रदान गरेको हो।

केही समयअघि सर्बियालाई हतियार दिएकोमा पश्चिमी देशहरूले चिन्ता व्यक्त गरेका थिए । युक्रेन युद्धको बीचमा सर्बिया जस्तो देशलाई हतियार आपूर्ति गर्दा यस क्षेत्रको शान्ति र सुरक्षामा खतरा हुन सक्ने उनीहरु दाबी गरेका थिए।

चीन र सर्बियाबीचको सम्बन्ध लामो समयसम्म चलेको छ। चीनले गृहयुद्धको समयदेखि सर्बियालाई सहयोग गर्दै आएको छ। यद्यपि, सर्वियाको सम्बन्ध अमेरिकासँगको तनावपूर्ण छ।

चीनको एच क्यू-२२ कति खतरनाक?
चीनको एच क्यू-२२ एक मध्यम र लामो दूरीको सतहदेखि हावामा प्रहार गर्न सकिने मिसाइल हो। एच क्यू-२२ चीनको पुरानो एच क्यू-२ मिसाइलको अपग्रेड हो। एच क्यू-२२ चीनको जियाङ्गन स्पेस इन्डस्ट्रीले बनाएको हो। बेस ०६१ भनेर चिनिने यो कम्पनी चाइना एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशन लिमिटेडको एक हिस्सा हो।

एच क्यू-२२ मिसाइल प्रणालीको दायरा १७० किमी छ। यो मिसाइलको तौल ३ सय किलोग्राम र लम्बाइ सात मिटर रहेको छ । यसको एउटा मिसाइलले १८० किलोग्रामसम्मको वारहेडले आक्रमण गर्न सक्छ। ठोस इन्धन रकेट मोटर एच क्यू-२२ मा प्रयोग गरिन्छ। यस मिसाइलको दिशा देखाउन अर्ध-सक्रिय रडार होमिङ र रेडियो कमाण्ड दिशानिर्देशहरू प्रयोग गरिन्छ।

प्रतिक्रिया