नवाज शरीफका भाइ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरीफ पाकिस्तानको प्रधानमन्त्री बन्ने लगभग तय भएको छ। शनिबार राति इमरान खान आफ्नो सरकार जोगाउन असफल भएपछि शहबाजलाई चिट्ठा पर्न लागेको हो। 

पाकिस्तानको ३४२ सांसद भएको तल्लो सदनमा इमरानविरूद्ध अविश्वासको प्रस्ताव पास भएको थियो। उनीविरूद्ध १७४ सांसदले भोट गरेका थिए। इमरानको सरकार भंग भएपछि आज पाकिस्तानले नयाँ प्रधानमन्त्रीको रूपमा शहबाजलाई छनोट गर्दैछ । 

शहबाज मुस्लिम लिग (नवाज) का अध्यक्ष हुन्। घुस तथा भ्रस्टाचार काण्डमा नवाज शरीफले प्रधानमन्त्री पदबाट राजीनामा गर्नु परेको थियो। सन् २०१८ मा पाकिस्तानको अदालतले नवाजलाई राजनीति गर्नबाट पनि बञ्चित गरेको थियो। यसपछि पार्टीको अध्यक्ष पदमा नवाजले भाईलाई स्थापित गराएका थिए। 

सन् २०१८ मा भएको चुनावमा पार्टीले प्रधानमन्त्रीको अनुहार उनलाई नै बनाएको थियो। तर, इमरानको पार्टी तहरिक–ए–इंसाफले बाजी मारेपछि शहबाजको प्रधानमन्त्री बन्ने सपनामा धक्का लागेको थियो। उनी विपक्षी पार्टीको नेता छानिएका थिए। शहबाज तीन पल्ट पञ्जाब प्रान्तको मुख्यमन्त्री भइसकेका छन्। 

आफ्नो वैवाहिक जीवनलाई लिएर बेलाबेलामा उनी चर्चामा आइरहन्छन्। उनले बिहे मात्र ५ जनासँग गरेको चर्चा छ। यीमध्ये केही बिहेलाई गोप्य राखिएको पाकिस्तानी मिडियाले पहिले नै बताएका थिए। 

उनको पहिलो श्रीमती बेगम नुसरत हुन्। आफ्नै परिवारभित्र उनले सन् १९७३ मा बिहे गरेका थिए। यो जोडीबाट ५ सन्तान छन्। नुसरतको १९९३ मा निधन भएको थियो। यसपछि शहबाजले नरगिस खोसा नाम गरेकी अर्की महिलासँग विवाह गरेका थिए। नरगिस खोसा पाकिस्तानको संघीय जांच एजेन्सी (एफआइए) का प्रमुख तारिक खोसाको बहिनी हुन्। 

शहबाजले गोप्य रूपमा साउदी अरबमा आलिया हनी नाम गरेकी अर्की महिलासँग पनि बिहे गरेको पाकिस्तानी अखबारले बताएको थियो। साउदीमा शहबाजको विषयमा एउटा भनाई छ– उनले आफ्नो प्रेमिकाका लागि एउटा पुलको निर्माण गरेका थिए। जुन पुल अहिले हनी ब्रिजको नामले प्रख्यात छ।

शहबाजले आफ्नो तेस्रो श्रीमतीलाई ट्राफिकको समस्या नहोस् भन्नका लागि घरबाट बाहिर निस्किन पुल बनाएको बताइने गरेको छ। यो कहानी फैलिएपछि शहबाजले आलियालाई तलाक दिएको र तलाकको ६ महिनापछि उनको निधन भएको बताइन्छ। आलियाको एउटा छोरी छिन्, जसको नाम खादिजा शरीफ हो। 

शहबाजले सन् २००३ मा तहमिना दुर्रानीसँग दुबईमा एउटा निजी समारोहमा बिहे गरेका थिए। तहमिना लाहौरमा बसोबास गर्छिन्। शहबाजसँग बिहे हुनुपूर्व तहमिना पञ्जाबका पूर्व मुख्यमन्त्री तथा गर्भनर गुलाम मुस्तफा खारकी श्रीमती थिइन। गुलाम मुस्तफासँग सम्बन्ध बिग्रिएपछि उनले १४ वर्ष लामो वैवाहिक जीवनबाट टाढा भएकी थिइन् । 

शहबाजले सन् २०१२ मा कलसुम हयासँग पनि बिहे गरेको बताइन्छ। हया पहिले अर्केकी श्रीमती थिइन् । । तर, शहबाजले बिहेका लागि पूर्वश्रीमानसँग पारपाचुके गर्न लगाएका थिए।

प्रतिक्रिया