सार्थक हस्तक्षेप नगरे नेपाल श्रीलंकाको बाटोमाः एमाले

काठमाडौं । नेकपा एमालेले सरकारको व्यवाहार र नीतिले नेपाललाई आर्थिक रुपमा श्रीलंकाको बाटोमा धकेलेको आरोप लगाएको छ ।

वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले गलत नीति लिएका कारण देशको अर्थतन्त्र धरापमा परेको बताएका हुन् । उनले तत्काल समस्या समाधान गर्न नसके मुलुक श्रीलंका हुनबाट नरोकिने बताए ।

उनले भने, ‘अर्थतन्त्र सुधारको लागि तदनुकूलको नीति अवलम्बन गर्नुपर्छ। यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन । प्रधानमन्त्री र मन्त्रीहरुले श्रीलंकाको अवस्थामा जान दिने छैन भनेर भाषण गर्दैमा त्यो अवस्था रोकिँदैन ।”

केपी ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएको तर यो सरकार आएपछि जस्ता निर्णय र व्यवहार गरिरहेको छ त्यसले अर्थतन्त्रलाई जोखिममा धकेलेको उनले बताए । उनले अर्थतन्त्रलाई नकारात्मक असर पर्नेखालका काममा सरकार अघि बढिरहेको बताए ।

पौडेलले अघिल्लो सरकारले बजार महँगी ४ प्रतिशत भन्दा तल राखेको, विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको उनले आरोप लगाए । पत्रकार सम्मेलनमा पौडेलले वर्तमान सरकारले व्यापार घाटामा छलाङ मारेको समेत आरोप लगाए ।

अघिल्लो आर्थिक वर्षमा १०४ अर्बले मात्र रहेको चालु खाता घाटा यस वर्ष ह्वातै बढेर ४०० अर्ब पुगेको समेत उनले बताए । रेमिट्यान्समा वैदेशिक रोजगारीमा जानेहरुको संख्या २५६.९ प्रतिशतले बढ्दा पनि उल्टो रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घट्नु शंकाको विषय बनेको बताए । जबकी आफ्नो सरकारको पालामा अधिकतम ८५.०५ विदेशिनेहरुको संख्या घट्दा पनि ९ प्रतिशत माथिले रेमिट्यान्स बढेको उनले जिकिर गरे ।

प्रतिक्रिया