अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने पक्का

काठमाडौं– अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने पक्का भएको छ। न्यायाधीश कटान्जी ब्राउन ज्याक्सनको नाम सर्वोच्चका लागि माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको हो।

अमेरिकी सर्वोच्चको २३३ वर्षको इतिहासमा ज्याक्सन ९ सदस्य रहेको बेन्चमा बस्ने पहिलो अश्वेत महिला न्यायाधीश बन्ने भएकी छन्। तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर ज्याक्सनको पक्षमा मतदान गरेका थिए।

१०० सांसद रहेको सिनेटमा भएको मतदानमा ज्याक्सनको पक्षमा ५३ तथा विपक्षमा ४७ मत परेको थियो। राष्ट्रपति जो वाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्चमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने वाचा गरेका थिए। 

सिनेटमा मतदानको अध्यक्षता उपराष्ट्रपति कमला ह्यारिसले गरेकी थिइन्। उनी पनि अमेरिकाको इतिहासमा पहिलो महिला र अश्वेत महिला उपराष्ट्रपति हुन्।

५१ वर्षकी न्यायाधीश ज्याक्सनले सर्वोच्चमा न्यायाधीश स्टिफन ब्रायरको स्थान लिने छन्। आउँदो जुनमा उनी अवकास लिँदैछिन्। ज्याक्सनले विगतमा न्यायाधीश ब्रायरका लागि काम समेत गरेकी थिइन्।

अमेरिकी सर्वोच्चमा हुने नियुक्ति जीवनभरका लागि हो। ज्याक्सनको नियुक्तिले हालको कन्जरभेटिभ न्यायाधीशको बहुमतमा भने असर पार्ने छैनन्। हाल सर्वोच्चमा ६ जना कन्जरभेटिभ न्यायाधीश छन्।

राष्ट्रपति वाइडेनले दुई महिना अघि फेब्रुअरीमा ज्याक्सनलाई सर्वोच्च अदालतको न्यायाधीशमा मनोनीत गरेका थिए। ज्याक्सनसँग संघीय बेन्चहरूमा ९ वर्षको अनुभव छ। 

प्रतिक्रिया