कोभिडपछि नेपथ्यको पहिलो संगीत यात्रा दमकमा

काठमाडौं। कोरोना महामारीको लामो असरले अस्तव्यस्त भएको जनजीवनमा उत्साह जगाउन नेपथ्यले संगीत यात्रा सुर गर्ने भएको छ। संगीत यात्राको थालनी पूर्वको शहर दमकबाट हुने भएको छ।

आगामी बैशाख १ गते नयाँ वर्षको दिन दमकको सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरी एक पटक दर्शकसामु उभिने भएको छ। यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा त्यसै मैदानमा आफूलाई उभ्याएको थियो।

यसरी खुलाआकाशको चौरमा प्रस्तुत हुनुअघि उक्त शहरका अघिल्लो तीनवटा कन्सर्ट सिनेमाहलमा आयोजना गरिएका थिए। पछिल्लो खुला कन्सर्टका निम्ति भने पाँच वटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाश ब्यवस्था हुँदै ध्वनी प्रणालीसमेत त्यहाँ पुर्याइएको थियो।

Photo 3 - Nepathya performing live

‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भब्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ।’

भौगोलिक अवस्थिति, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रुपमा विकास हुँदै गइरहेको छ। पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगरहुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिति जनाएका थिए। त्यो शहरमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुँदैछ।

कोरोना भाइरसले उसको कठोर पञ्जा विश्वभर फैलाउनुअघि नेपथ्यले आफूलाई राजधानी काठमाडौंकै भृकुटी मण्डपमा उपस्थित गराएको थियो। २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो। त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुती बन्न पुग्यो। यसपटक को नेपथ्य कार्यक्रम दुइ बर्ष पछिको अन्तराल मा हुँदैछ ।

‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दैगएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्वन्ध अझ खुल्दै   गए ।’

त्यो एकान्तिक अवधिमा संगीतको अभ्यासलाई पनि जारी राखेको उनी सुनाउँछन्।

‘बैज्ञानिकहरुको अथक प्रयासले यसैपाला इतिहासमै सबैभन्दा छिट्टो यो भाइरस विरुद्धको भ्याक्सिन पनि तयार भयो,’ अमृत थप्छन्, ‘अव विस्तारै हामी सबैले आ–आफ्ना कर्महरुबाट संसारलाई पूर्ववत् अघि बढाउनुपर्ने दायित्व आइपुगेको छ।’

नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई विसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्वपूर्ण हुने अमृतको विश्वास छ। उनका अनुसार कन्सर्टमा सदा झैँ नेपथ्यका सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्नुका साथै केहि नयाँ प्रस्तुतीको तयारी पनि अघि बढिरहेको छ।

दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ। ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो।

‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरु अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन्।   

 

प्रतिक्रिया