पपुवा न्युगिनीसँग नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)सँग नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपाललाई पीएनजीले ३ विकेटले हराएको हो ।  

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो ।  पीएनजीले नेपालले दिएको २७९ रनको लक्ष्य ४८.४ ओभर खेल्दै ७ विकेटको क्षतिमा भेटायो । शुक्रवार पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।  दीपेन्द्रसिंह ऐरीले आजको खेलमा सर्वाधिक १ सय ५ रन जोडे ।

उनको यो पहिलो शतक हो । ऐरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका तेस्रो खेलाडी समेत बनेका छन् । यसअघि हिजो रोहित पौडेलले १ सय २६ रन बनाएका थिए । त्यस्तै सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पूर्वकप्तान पारस खड्काले सन् २०१९ मा यूएईसँगको एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाएका थिए । आजको खेलमा देव खनालले ७२ रनको अर्धशतकीय पारी खेले ।

खनाल र ऐरीले १ सय २९ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले राम्रो योगफल बनाउन सफल भएको थियो । हिजोको खेलमा आरिफ शेख र रोहित पौडेलले १ सय ४ रनको साझेदारी गरेका थिए । पपुवा न्युगिनीका एली नाओले ३ तथा नर्मन भानुवाले २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले एक/एक विकेट लिए । 
 

प्रतिक्रिया