पपुवा न्यूगिनीको सुधारिएको प्रदर्शन र नेपालको खराब बलिङ

काठमाडौं । गत वर्ष अप्रिल १७ देखि २१ सम्म घरेलु भूमिमा भएको मलेसिया र नेदरल्यान्ड्स सम्मिलित टी-२० त्रिदेशीय सिरिजमा कीर्तिमानी रेकर्ड बनाउँदै उपाधि जितेको नेपाल पछिल्ला केही महिनामा समान स्तरको युएई र ओमानसँग पराजित हुन पुगेको थियो ।

करिब दुई महिनाको अन्तरालमा खेलिएको आईसीसी विश्वकप ग्लोबल छनोट र विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएई र ओमानसँग पराजित भएपनि नेपाल एक समयको निकै ठूलो प्रतिद्वन्द्वी पपुवा न्यू गिनीसँग भने अपराजित रहँदै आएको थियो । पपुवा न्यूगिनी त्यही प्रतिद्वन्द्वी हो, जसले सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्दा नेपाललाई दुवै खेलमा हराउँदै दबदबा कायम गरेको थियो ।

तर, २०१८ पछि भने खोलो फर्कियो । जिम्बावेको विश्वकप छनोटमा पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता टोली बन्यो। त्यसयता पपुवा न्यूगिनीसँग खेलेको लगातार चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको नेपाल पहिलोपटक घरेलु मैदानमै ६ रनले पराजित भएको छ । शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने जितको सिलसिलाई दोहोर्याउन चाहन्थे ।

विश्वकप लिग–२ का दुवै खेलमा पपुवा न्यूगिनीलाई हराएको जोश, घरेलु मैदान र दर्शकको समर्थनले पनि उनी थप उत्साहित थिए । यसका साथै त्रिवि मैदानको बाउन्ड्री छोटो र ब्याटिङ उपयोगी पिचले नेपालले बलियो योगफल पूरा गर्ने उनको विश्वास थियो । त्यसैले खेलको अन्तिमसम्म जित ‘सस्पेन्स’मा राख्न उनी बलिङमा उत्रिए । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले जित्ला कि नजित्ला भनेर अन्तिमसम्मै ‘सस्पेन्स’ रह्यो ।

रोहित पौडेलले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए। जुन नेपाली ओडिआईको पहिलो शतकीय साझेदारी थियो । यसअघि पपुवा न्यूगिनीसँग पहिलो ओडिआई खेलमा पाँचौं विकेटका लागि आरिफसँग नै १ सय रनको शतकीय साझेदारी गरे रोहितलाई उनी आउट भएपछि अर्को ‘एन्ड’बाट गतिलो साथ मिल्न सकेन ।

१२६ रनको कीर्तिमानी ब्याटिङ गरे आउट हुनुपूर्व उनले भीम सार्कीसँग साझेदारी गर्ने प्रयास गरेका थिए। तर, पहिलोपटक ओडिआईमा ब्याटिङ गरिरहेका सार्की आउट भएपछि उनलाई तल्लाक्रमका पवन सर्राफले साथ दिन सकेनन् । पवनले केही साथ दिएको एक नतिजा पनि अर्को हुन सक्थ्यो। तर, ४२औं ओभरको दोस्रो बलमा नर्मन भानुआले सेसे बाउबाट क्याच गराएपछि खेल उल्टियो ।

त्यसपछि क्रिजमा आएका कमलसिंह ऐरी र सोमपाल कामीले नेपाललाई अन्तिम ओभरमा जितका लागि चाहिएको १० रन बनाउन सकेनन्। उनीहरुले ६ बलमा तीन रन मात्र जोड्दा नेपाल पपुवा न्यू गिनीसँग नेपाल पहिलो पटक पराजित भयो । नेपालका कप्तान सन्दीप रोहित आउट हुनुनै दूर्भाग्य रहेको बताउँछन्।  ‘उसले खेल फिनिस गर्न सक्थ्यो, तर भएन। शतक पूरा गरेका रोहित अन्तिम ओभरसम्म टिक्ने आशा भएपनि उनी नटिक्नु पनि हारको कारण बन्यो,’ खेलपछि उनले भने,‘रोहित आउट भएपछि पनि सोमपाल र कमलले जिताउछन् भन्ने आशा थियो। तर त्यो आशा पनि पूरा भएन।’

कमजोर बलिङ
सन् २०१४ मा बंगलादेशमा आयोजना भएको आईसीसी टी २० विश्वकपमा सहभागी भएसँगै नेपाली टोलीको मुख्य हतियार भनेको बलिङ नै बन्दै आएको छ। पछिल्लो समय पनि नेपालले ब्याटिङमा भन्दा बलिङमै राम्रो प्रदर्शन गर्दै आएको छ । त्यसैले शुक्रबारको खेलमा पनि सन्दीपलाई बलिङबाट पपुवा न्यूगिनीलाई रोक्ने विश्वास थियो।

उनले बलिङलाई नै पहिलो प्राथमिकतामा राख्दै अनुभवी बलर सोमपाल कामी र करण केसीसहित ७ जनालाई मैदान उतारेका थिए । तर, करण, पवन सर्राफ, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी र देव खनालबाहेक अरु फलदायी हुन सकेनन्।

१० ओभर बलिङ गरेका दीपेन्द्रले १ मेडनसहित ३० रन खर्चिएर २ विकेट लिए । यता, कमलसिंह पनि फलदायी रहे। करिअरकै तेस्रो खेल खेलेका कमलले ९ ओभरमा ५६ रन खर्चिएर २ विकेट लिए । तर, समान २ विकेट नै लिएका सोमपाल कामी महंगो सावित भए। उनले ९ ओभरमा ८१ रन खर्चिए। जुन ओडिआईमा कुनैपनि नेपाली बलरले खर्चिएको एक खेलमा सर्वाधिक रन हो । यसअघि २०२० मा ओमानविरुद्ध कीर्तिपुर मैदानमा सन्दीप लामिछानेले १० ओभरमा ६५ रन खर्चेका थिए। जुन खराब कीर्तिमान सोमपालको नाममा रह्यो । 

ओडिआई इतिहासमै भने १० ओभरमा सबैभन्दा बढी रन खर्चिने कीर्तिमान अस्ट्रेलियाली बलर मिक लेविसको छ। उनले सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय १३ खर्चेका थिए । सन् २०१४ को विश्वकपमा हङकङविरुद्धको टी२० खेलमा मुख्य प्रशिक्षक पबुदु दासानायकेले डेब्यू गराएका सोमपाल पछिल्लो समय खराब लयमा छन्।

खराब लयकै कारण पबुदुले पछिल्लो समय उनलाई ओमान र युएई भ्रममा समावेश गरेका थिएनन् । करिब २ महिना लामो भ्रमण भइसक्दा पनि उनको प्रदर्शनमा भने सुधार देखिएन। उनको खराब प्रदर्शनका बाबजुद हारको कारण अतिरिक्त रन बन्न पुग्यो।  जुन कुरा प्रशिक्षक पुबुदु पनि स्वीकार गर्छन्। ‘अतिरिक्त रन नै बढी भयो। नेपालले ४ बाई, ५ लेग बाई, १ नोबल र १० वाइड रन दियो। यो न हारको कारण हो,’ उनी भन्छन्।
पपुवा न्यूगिनीको सुधारिएको प्रदर्शन
यूएईमा भर्खरै क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको पहिलो खेलमा पपुवा नूगिनीले नेपालसामू २ सय ५ रनको ठूलो चुनौती तेर्स्याएको थियो। उक्त लक्ष्य नेपालले अन्तिम ओभरमा पूरा गर्दै २ विकेटको जित पाएको थियो । तर, उसैसँगको दोस्रो खेलमा भने नेपाल सजिलै ७ विकेटले विजयी रह्यो ।त्यसअघि पपुवा न्यू गिनीले यूएई भ्रमणमा बलियो घरेलु टोली यूएईमाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्दै प्रतियोगितामा लगातार १४औं हारको खराब रेकर्ड तोडेको थियो ।

पछिल्लो समय पपुवा न्यूगिनी लयमा फर्किन प्रयासरत रहेको छ। कप्तान असाद भालाको अनुभव र नेपालको पछिल्लो अवस्थाबारे अभ्यस्त रहेका अस्ट्रेलियाली प्रशिक्षक कार्ल सान्ड्रीलको बलियो रणनीतिकै शुक्रबार मैदानमा देखियो । पछिल्लो समय खराब लयमा रहेका लेगा सियाकालाई बेन्चमा राख्दै  हिरी हिरीलाई मैदान उतारेका थिए।

तर, उनी आउट भएपछि भने पपुवा न्यू गिनी दबाबमा देखिएन । दोस्रो विकेटका लागि कप्तान आसाद भाला र टोनी उराले ४९ रनको साझेदारी गर्दै इनिङ्स उकासे। त्यसक्रममा उराले ४७ बलमा ६ चौकासहित ३८ रन बनाए । यता, २–७० को स्थितिमा रहेको अवस्थामा कप्तान भालाले र चार्ल्स अमिनीसँग ७३ रनको साझेदारी गर्दै पपुवा न्यू गिनीलाई बलियो अवस्थामा पुर्याए ।

२५औं ओभरको पहिलो बलमा दीपेन्द्रले बोल्ड हुनुअघि भालाले ५५ बलमा ११ चौकासहित ६० रन जोडे। उनको यो ओडिआईमा छैटौं अर्धशतक हो। उनले यसअघि हङकङ, वेस्टइन्डिज, ओमानसँग १/१ पटक युएईसँगको खेलमा दुईपटक अर्धशतक बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका राइली हेकुरे ४१औं ओभरको पहिलो बलमा पवन सराफबाट बोल्ड हुनुअघि अमिनीसँग ६१ रनको साझेदारी गरे। उनले ४० बलमा ५ चौकासहित ३१ रन प्रहार गरे । त्यसपछि आएका अन्य ब्याटरले पनि राम्रो साझेदारी गरे। ४५औं ओभरको पहिलो बलमा सोमपालबाट बोल्ड हुनुअघि अमिनीले ७७ रन बनाए। सन् २०१४ मा हङकङविरूद्वको ओडिआई खेलमा डेब्यू गरेका अमिनीको यो नै उत्कृष्ट प्रदर्शन हो। उनले उक्त खेलमा नटआउट ६१ रन बनाएका थिए ।

अमिनीले तल्लोक्रमका नर्मन भानुवासँग मिलेर ४८ रनको साझेदारी गरेका थिए। भानुवा ४९औं ओभरको पाँचौं बलमा कमलसिंह ऐरीको बलमा दीपेन्द्रसिंह ऐरीबाट ४७ रनमा आउट भए। उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा पपुवा न्यूगीनीले २९२ रन बनायो ।

 


 

प्रतिक्रिया