आरआरआर : रिलिजअघि नै ८०० करोड भारु कमाउने पहिलो दक्षिण भारतीय फिल्म

काठमाडौं- साउथ सुपरस्टार रामचरण तेजा र जुनियर एनटीआर तथा बलिउड सुपरस्टार अजय देवगन र आलिया भट्टको बहुप्रतिक्षित फिल्म आरआरआर शुक्रबारबाट रिलिज भएको छ। 

५५० करोडभन्दा बढीको बजेटमा बनेको आरआरआर हेर्नको लागि अग्रिम बुकिङ ६० करोड भारुभन्दा बढी भइसकेको छ। फिल्मले सय करोडभन्दा बढीको ओपनिङ गर्नसक्ने ट्रेड विज्ञहरुको विश्वास छ।

आरआरआरले प्रि–रिलिज कमाइमा पनि धेरै रेकर्ड तोडेको छ। फिल्मले वितरण, स्याटेलाइट, म्युजिक जस्ता अधिकार बेचेर रिलिजअघि नै करिब ८०० करोड कमाइसकेको छ।

ट्रेड विश्लेषकहरूका अनुसार आरआरआरले बक्स अफिसबाट हजार करोडभन्दा बढीको व्यापार गर्नेछ। योसँगै फिल्मले प्रि–रिलिजबाट ८ सय करोडको व्यापार गरिसकेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक एसएस राजामौलीको फिल्मको प्रि–रिलिज थियटर व्यापारले सबै भाषाबाट ४७० करोडभन्दा बढी कमाइ गरेको छ। योसँगै यो फिल्म प्रि–रिलिज थियटर व्यापार गर्ने हिसाबले सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय चलचित्र बनेको छ।

यसअघि उनैको फिल्म ‘बाहुबली’ ले रिलिज पूर्व थिएटरमा ३५० करोडको व्यापार गरेको थियो। आरआरआरले २७५ देखि ३०० करोड गैर–थिएटर व्यापार (डिजिटल, स्याटेलाइट, संगीत र अन्य अधिकारहरूबाट कमाइ) गरेको छ। त्यसअनुसार फिल्मले रिलिजअघि नै ७५० देखि ८०० करोडको व्यापार गरिसकेको छ।

के बाहुबली जस्ता कीर्तिमान तोड्ने फिल्म बनाएका राजामौलीले फेरि इतिहास रच्न सक्छन् ? यो प्रश्न सबै फ्यानहरुको मनमा घुमिरहेको छ। अब २ दिनपछि यो फिल्मले चमत्कार गर्छ कि नतिजा उल्टो आउँछ भन्ने खुल्नेछ।

बाहुबली २ ले पहिलो दिन सबै भाषामा करिब १२१ करोडको व्यापार गरेको थियो। अब आरआरआरको अग्रिम बुकिङबाट बाहुबली २ को रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ। रिपोर्टका अनुसार आरआरआरले पहिलो दिन हिन्दी संस्करणबाट १५ देखि २० करोड कमाउन सक्छ।

आरआरले युएसए प्रिमियरमा पनि १६ करोडभन्दा बढी कमाएको छ। हिन्दी संस्करणले नै एडभान्स बुकिङबाट करिब दुई करोड भारु कमाएको छ। 

प्रतिक्रिया