रुसमा लामो खुट्टा भएकी युवती, ‘लाइफ पार्टनर’ को खोजीमा

हामी नेपालीहरू उचाइँ कम भएका कारण तनावमा हुन्छौं। तर, रुसकी एक युवतीलाई आफ्नो उचाइँ नै सबैभन्दा ठूलो तनावको कारण बनेको छ।  

इकाटेरिना लिसिना नाम गरेकी ती युवती आफ्नो उचाइँलाई लिएर यतिबेला निकै तनावमा छिन्। उनको शरीरको लम्बाई नै ६ फिट ९ इन्ची छ। उनी विश्वको सबैभन्दा अग्ली मोडल पनि हुन्। लम्बाई कै कारण ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा पनि उनको नाम दर्ता छ। तर, यही लम्बाईका कारण उनले आफ्नो ‘लाइफ पार्टनर’ भेटाउन सकेकी छैनन्। 

‘गिनिज बुक’ मा उनको बायाँ खुट्टाको लम्बाई १३२ दशमलव ८ सेन्टिमिटर तथा दाहिने खुट्टाको लम्बाई १३२ दशमलव २ सेन्टिमिटर दर्ता छ। उनी २९ वर्षमा प्रवेश गरिसकेकी छिन्। 

लिसिना पहिले व्यवसायिक बास्केटबल खेलाडी थिइन। सन् २००८ को ओलम्पिकमा रुसले कास्य पदक जित्दा उनी टिमको सदस्य थिइन। तर, यसपछि उनले खेलबाट सन्यास लिइन् र मोडलिङमा प्रवेश गरिन्। 

डेली स्टार पत्रिकाका अनुसार लिसिनाले उचाइँकै कारण आफूले राम्रो केटा साथी नपाएको दुःख व्यक्त गरेकी छिन्। उनी भन्छिन्, ‘रिलेसनसीपमा उचाइँको खासै महत्व हुँदैन। तर, समाजले यस्तो जोडीलाई नराम्रो नियतले हेर्ने रहेछ।’ उनी आफ्नो उचाइँभन्दा १ फिट कम अग्लो केटा भएपनि ‘डेटिङ’ गर्न तयार छिन्। 

ekaterina lisina

हिजोआज उनी घरबाट बाहिर निस्किन्न्। घरमै बसेर ‘डेटिङ एप्स’ मार्फत आफ्नो लागि उपयुक्त केटा खोज्ने अभियानमा सक्रिय छिन्। उनी भन्छिन्, ‘पार्टनरको लम्बाईको अन्तर एक फिटपछि धेरै देखिन्छ। धेरै केटीहरू १–२ सेन्टीमिटरको अन्तरलाई पनि व्यवस्थापन गर्न सक्दैनन्।’

उनी आफूले रोजेको केटामा केही गुण चाहन्छिन्। जसमा केटा पारिवारिक हुनुपर्ने र उनको राम्रो हेरविचार गर्नुपर्ने रहेको छ। ‘उसले आर्थिक रूपमा पनि मलाई केही सहयोग गर्छ भने त्यो झनै राम्रो कुरा हो,’ उनी भन्छिन्। 

अस्वभाविक उचाइँका कारण उनलाई कपडा तथा जुत्ता किन्न असहज हुने गर्छ। उनी आफ्नो साइजको कपडा र जुत्ता बजारमा सहजै नपाउने कारण अलग्यै बनाउनुपर्ने सुनाउँछिन्। उनलाई प्लेन र कारमा बस्न पनि गाह्रो पर्ने गरेको छ।

लिसिनाको परिवारका अन्य सदस्य पनि अग्ला छन्। उनको भाईको लम्बाई ६ फिट ६ इन्ची छ। बुवा पनि ६ फिट ५ इन्ची र आमाको उचाइँ ६ फिट १ इन्ची छ। 

प्रतिक्रिया