खुशी हुन चाहनेलाई यी हुन् अमूल्य फर्मूला

हामी प्रत्येक क्षण राम्रो या नराम्रो अनुभव गरिरहेका हुन्छौं । पलपल भोगिरहेका छौं । या त यो क्षणमा दुःखको अनुभव गरेका हुन्छौं या त यो क्षणमा सुखको अनुभव गरेका हुन्छौं । र, दुईटै अनुभव गर्ने छुट हामीलाई छ । जे अनुभव गरे पनि हुन्छ । कसैले जबर्जस्ती गरेकै छैन । न त कसैले सुख भोग भनेको छ न त कसैले दुःख भोग भनेको छ । सुख–दुःख हाम्रो मनको सिर्जना हो । सुख पनि हाम्रो मनले सिर्जना गर्छ, दुःख पनि हाम्रो मनले सिर्जना गर्छ । अहिलेको जस्तो परिस्थिति पहिले पनि आएको थियो, पहिले पनि यस्तै–यस्तै घटनाहरु घटेका थिए, तर त्यति दुःखको अनुभव गरेको थिएन । अहिले गर्यौं । उस्तै प्रकृतिको घटना घट्दा कहिले धेरै दुःखको अनुभव गर्छौं, कहिले कम दुःखको अनुभव गर्छौं । यसको अर्थ हो– हाम्रो मन कस्तो छ, त्यस्तै स्थिति बन्छ । यतिखेर मनले के लिएर आइरहेको छ, मनमा कस्तो सोच छ, बिचार छ, यदि दुःख ल्याउने प्रकारको बिचार छ, मनमा दुःखका भावहरु आएका छन् भने सजग हुन जरुरी छ । जुन भावले दुःख ल्याउँछ, त्यो भाव किन मनमा बस्न दिने ? महसुस गर्ने हो सुखकै महसुस गरौंला, दुःखको किन गर्ने ? 

बोल्नलाई हो शब्द, उच्चारण गर्ने हो, राम्रो शब्द उच्चारण गरौं न । नराम्रो किन गर्नुपर्याे र ? नराम्रा शब्दहरु उच्चारण गरेर, असभ्य शब्दहरु प्रयोग गरेर, कसैलाई चित्त दुख्ने शब्दहरु प्रयोग गरेर हाम्रो मन शान्त हुन्छ र ? हाम्रो मन शीतल हुन्छ र ? हुँदैन भने किन नराम्रा शब्द प्रयोग गर्नु ? हाम्रो हातमा छ नि । कसैले नराम्रो शब्द प्रयोग गर् भनेर हामीलाई जबर्जस्ती गरेको त छैन । हाम्रो आफ्नो मुख हो, हाम्रो आफ्नो शब्द हो । जस्तो उच्चारण गरे पनि पाइन्छ । प्रकृतिले हामीलाई पूरा छुट दिएको छ । मीठो बोली बोले पनि हुन्छ, अरुको हृदयलाई शीतल बनाउने र आफ्नो हृदयलाई पनि शीतल पार्ने शब्द बोल्दा पनि हुन्छ । र अरुलाई पनि चोट हुने र आफूलाई पनि कष्ट हुने शब्द बोल्दा पनि हुन्छ, हाम्रो खुुशी । सुख–दुःख हाम्रो आफ्नो उपज हो । हामीले बनाउने हो । कसैलाई अपमान गर्न पनि सक्छौं, कसैलाई सम्मान गर्न पनि सक्छौं । हाम्रो हातमा छ । जे गरे पनि हुन्छ । कसैले अपमान गर है भनेर जबर्जस्ती गरेको छैन । अरुलाई अपमान गरेर आफू पनि दुःखी र अरुलाई पनि दुःखी बनाउन सकिन्छ । 

कुनै पनि मानिसलाई अपमान गरेर, कुनै पनि वस्तुलाई अपमान गरेर कोही सुखी हुन्छ र ? सुखको अनुभव हुन्छ भने अपमान गर्दा ठीक छ । हुँदैन भने किन गर्नु ? आफ्नै हातबाट हो, जे गरे पनि पाइहालिन्छ क्यारे । अरुलाई सम्मान गर्न पनि छुट छ, अपमान गर्न पनि छुट छ । जस्तो गरे पनि हुन्छ । अरुलाई सहयोग गरे पनि हुन्छ, असहयोग गरे पनि हुन्छ । हाम्रो हातमा छ । कसैलाई असहयोग गर्दाखेरि, कसैको दुःखमा साथ नदिँदाखेरि आनन्द आउँछ र ? आउँछ भने त्यही गरे हुन्छ । हैन अरुको मद्दत गर्दाखेरि, अरुलाई सहयोग गर्दा, अरुलाई खुशी बनाउँदा आनन्द आउँछ भने त्यही गरे भइहाल्यो नि । हाम्रो हातमा छ । जे गर्दा पनि छुट त हामीलाई ईश्वरले दिएकै छ । यी सद्गुणहरुलाई प्रयोग गर्ने अवसर पनि हामीलाई छ । आफूभित्र रहेका दुर्गुणहरुलाई प्रयोग गर्ने अवसर पनि हामीलाई छ । के प्रयोग गर्ने भन्ने हाम्रो हातमा छ । सद्गुणलाई प्रयोग गरेर मानिस देवता बनेको छ । दुर्गुणलाई प्रयोग गरेर दानव बनेको छ । अवगुणलाई प्रयोग गर्ने या सद्गुणलाई प्रयोग गर्ने भन्ने हाम्रो हातमा छ । हामीलाई कसैले अवगुण प्रयोग गर भनेर जबर्जस्ती गर्दैन । 

त्यसैले सुख–दुःख हाम्रो हातमा छ । अरुले दुःख दियो भनेर भन्नु अर्थहीन हुन्छ । कसैले कसैलाई दुःख दिँदैन । सद्गुणहरुलाई प्रयोग गर्यौं भने सुखै–सुख हुन्छ र अवगुणहरुलाई प्रयोग गर्यौं भने दुःखै–दुःख हुन्छ । कति प्यारो व्यवस्था छ । हामीलाई ईश्वरको कति ठूलो कृपा छ । सुख पाउनुपर्छ बाबु सुख पाऊ, पूरापूरा व्यवस्था गरिदिएको छ । तिमीलाई कसैले दुःख दिँदैन, सुख तिम्रो हातमा छ । आखिर दुःख पनि तिम्रै हातमा छ । आफूखुशी– कति छुट दिएको होला । कस्तो स्वतन्त्रता दिएको होला ? मानिस पूर्ण स्वतन्त्र छ । मानिस कसैको अधीनमा छँदै छैन । हामीले कस्ता गुण प्रयोग गर्यौं, त्यसमा निर्भर गर्छ ।

कुनै मानिसले कसैलाई दुःख दिनै सक्दैन । कसैले कसैलाई दुःख दिँदैन । हामीले दुःख दिने वातावरण बनाइदियौं भनेचाहिँ दुःख दिन्छ । हामीले हाम्रा अवगुणहरुलाई प्रयोग गर्यौं भने अरुले दुःख दिने वातावरण बन्छ । अनि अरुले दुःख दिन्छन् । हाम्रा सद्गुणहरुलाई प्रयोग गरेका छौं भने अरु कसैले दुःख दिनै सक्दैन । मैले चाहिँ उसको सहयोग गर्ने, उसलाई सद्भाव व्यक्त गर्ने, उसले मलाई सताओस्, दुःख देओस्, त्यस्तो हुँदैन । मैले माया गरेपछि त फिर्ता माया नै आउँछ । मैले जस्तो व्यवहार गर्छु, फिर्ता त्यस्तै आउँछ । आफ्नो मनमा कपट छ, आफ्नो मनभित्र द्वेष छ भने उताबाट पनि त्यस्तै आउँछ । आफूले अन्तस्करणबाटै सद्भाव व्यक्त गरेको छ, सहयोग गरेको छ, प्रेम व्यक्त गरेको छ भने उताबाट नराम्रो फिर्ता आउँदै आउँदैन । 

यो प्रकृतिको नियम हो । जुन बिरुवा रोप्छौं, त्यही बिरुवा हुर्किन्छ, त्यसैले फल दिन्छ । एउटा बिरुवा रोपेर अर्को फल आउँदैन । हामीलाई पूरा स्वतन्त्रता छ । जे भोगे पनि हुन्छ, सुख भोगौं, दुःख भोगौं, राम्रो भोगौं, नराम्रो भोगौं– सबै हाम्रो खुशी । आफ्ना सद्गुणहरुलाई प्रयोग गरौं । 

हामीसँग प्रचुर मात्रामा गुणहरु छन् । यसको कमी छैन । हाम्रो अन्तस्करण सद्गुणले भरिभराउ छ । प्रकट गरौं र यसलाई प्रयोग गरौं । सुन्दर हुन्छ दुनियाँ, सुन्दर हुन्छ संसार । सद्गुणलाई प्रयोग गर्यौं भने सर्वत्र सौन्दर्य, अवगुणलाई प्रयोग गर्यौं भने सर्वत्र कुरुपता हुन्छ । हामीलाई हामीभित्रको सद्गुणलाई प्रयोग गर्न कसैले रोकेको चाहिँ छ । नत्र भने हामी लड्थ्यौं होला । जुन–जुन विषयले आफूलाई सुख दिन्छ, त्यो विषय त जसले नि पूरा गरिहाल्छ नि । सुख दिन्छ भन्ने जानिजानीकन कसैले दुःख दिने काम गर्छ र ? आगोमा हात हालेपछि पोल्छ भन्ने थाहा पाईपाई कसले हात हाल्छ र ? हामी पनि हाल्दैनौं । हाम्रा अवगुणहरुलाई प्रयोग गर्दा हामीलाई दुःख आउँछ भन्ने हामीलाई थाहा छ र पनि अवगुण प्रयोग गर्न मजबुर छौं । यहाँ हाम्रो खुशी चल्दैन । अरु कसैले अवगुण प्रयोग गर्न हामीलाई प्रेरित गर्छ र दुःखी बनाउँछ । 

कसले पे्ररित गर्छ होला । हाम्रो सद्गुणलाई प्रयोग गर्न नदिने र अवगुणलाई मात्र प्रयोग गराउने को हो ? कसले यो गलत काम गर्न सिकाउँछ । नराम्रो दिशातिर, दुःख पाउने दिशातिर कसले डोर्याउँछ । एउटै मात्रै शक्ति छ जसले हामीलाई दुःख दिन्छ । त्यो शक्ति हामीभित्रै छ । त्यो शक्ति हाम्रो अहम् हो । हाम्रो अहंकारले सद्गुणलाई प्रयोग गर्न दिँदैन । हाम्रो अहंकारले हाम्रा अवगुणहरुलाई साथमा लिएर हिँडेको हुन्छ । जहाँ अहंकार, उहीँ अवगुणहरु, जहाँ प्रेम उहीँ सद्गुणहरु, प्रेम र अहंकारको मेल हुँदैन । अहंकार र प्रेम रात र दिन जस्तै हो । आफ्नो अहंकारप्रति सजग होऔं । प्रत्येक कर्म गर्दाखेरि, प्रत्येक घटना घट्दाखेरि आफूभित्र अहंकार त उठेको छैन ? यतापट्टि सजग बनौं ।

यो सजगता नै अहंकार घटाउने कारक हो । कुनै पनि कुरा बोल्दाखेरि, अरुसँग आफूलाई व्यक्त गर्दाखेरि, आफ्ना भनाइहरु राख्दाखेरि, कुनै कार्य गर्दाखेरि आफूभित्र अहंकार त उठेन ? म केबाट निर्देशित भएर कर्म गरिरहेको छु ? मैले जे काम गर्दैछु, बोल्दैछु, यो बोल्नुको पछाडि कर्म गर्नुको पछाडि मेरो अहंकारले प्रेरणा दिएको छ या प्रेमले प्रेरणा दिएको छ । यतापट्टि दृष्टि लगाउन जरुरी छ । किनभने हाम्रा कर्महरु या त प्रेमबाट निर्देशित हुन्छन्, या त अहंकारबाट निर्देशित हुन्छन् । केबाट मेरा कर्महरु निर्देशित छन्, मेरा भावहरु मेरा विचारहरु, यतापट्टि दृष्टि दिनु जरुरी छ । थोरै पनि आफ्नो अहंप्रति सजग हुन सक्यौं भने हामीभित्रका सद्गुणहरु बाहिर प्रकट हुन थाल्छन् र हामीलाई सुख मात्रै दिन्छन् । आफ्ना सद्गुण प्रयोग गरेर यो ब्रह्माण्डमा कोही दुःखी हुँदै  हुँदैन । आफ्ना अवगुणलाई प्रयोग गरेर यो संसारमा कोही सुखी पनि हुँदैन । त्यसैले अहंकारप्रति सजगता, सुख–दुःखको आधार यही अहंकार हो । यसप्रति सजग बनौं र ध्यानले यही सिकाउँछ । 

ध्यानले आफूमा हेर्न सिकाउँछ । आफ्ना गुण अवगुणहरुलाई केलाउन सिकाउँछ । आफूमा आउने भावहरु कसबाट निर्देशित छन्, यता हेर्न सिकाउँछ ।
प्रेमबाट निर्देशित कर्म हो या अहंकारबाट निर्देशित कर्म हो, आफ्नो प्रत्येक कर्मलाई छुट्याउन ध्यानले सिकाउँछ । ध्यान भनेको सजगता हो । आफ्ना भाव, आफ्ना विचार, आफ्ना प्रत्येक कृत्यहरुप्रति सजग रहनु ध्यान हो र ध्यानका अभ्यासीहरु सद्गुणी हुन्छन् । मन शान्त र स्थिर हुन्छ । उत्तेजनामा अहंकार बढ्छ । शान्तिमा प्रेम बढ्छ । जहाँ शान्ति उहीँ प्रेम हुन्छ । जहाँ उत्तेजना, उहीँ अहंकार हुन्छ र ध्यानले शान्तितिरको यात्रा गराउँछ । उत्तेजनालाई घटाइदिन्छ । त्यसैले ध्यान सर्वोपरि छ । विना ध्यान कोही सुखी हुनै सक्दैन किनभने विना ध्यान अहंकार कम हुँदै हुँदैन ।

अरु सबै विषयहरुले अहंकार बढाउँछन् । ध्यानले मात्रै अहंकार घटाउँछ । किन घटाउँछ भने ध्यानबाट प्रेम उत्पन्न हुन्छ, शान्ति उत्पन्न हुन्छ । शान्ति, स्थिरता र प्रेममा अहंकारको कामै छैन । हामी सबैलाई पनि आफ्ना अहंकारप्रति सजग हुने अवसर प्राप्त होस् । हामी सबैलाई पनि ध्यानस्थ हुने अवसर प्राप्त होस् ।
(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक रमेश नेपालको प्रवचनमा आधारित)


 


 

प्रतिक्रिया