हराएका पैसा खोज्दै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्नुपर्ने बताएका हुन् ।

शुक्रबार नेपाल नागरिक लगानी कोषको ३२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले बैंक  तथा वित्तीय संस्थामा रकम राख्ने र ब्याज खाने कार्यक्रमको अन्त्य गर्दै कोषको लगानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । कोष जस्तै संस्थाले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले मुलुकको स्तारोन्नतिका लागि अहिले २० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए ।

छरिएर रहेका पूँजीलाई एकीकृत गर्दै लगानीमार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जनामा लगाउनुपर्नेमा उनको जोड थियो । उनले राष्ट्रिय महत्वका पूर्वाधार परियोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन एक खर्ब बढीका प्रत्यक्ष लगानी कोष खडा गर्नेबारेमा छलफल भइरहेको जानकारी दिए ।

विप्रेषण आप्रवाहलाई वृद्धि गर्न विप्रेषण भित्राउँदा लाग्ने शुल्कलाई घटाउने, वैधानिक बाटोबाट मात्रै विप्रेषण पठाउने श्रमिकलाई थप सहुलियत दिने विषयमा आफ्नो ध्यान केन्द्रित भएको उनको भनाए थियो । “आयातमा भएको लगानीलाई घटाउँदै उत्पादनमा लगानी बढाउनुपर्छ”, अर्थमन्त्री शर्माले भने, “पछिल्ला दिनमा निर्यातमा केही सुधार भएको छ, यसलाई वृद्धि गर्नुपर्छ ।”

उनले बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो लिएको भन्दै निस्कृय रहेको पूँजीलाई लगानी गर्नुपर्ने खाँचो औल्याए । आयातमा भएको वृद्धिले शोधनान्तरस्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले भने, “उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनु पर्छ ।”

नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाइने बताए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कोषमा सङ्कलित रकम बैंकमा रकम राखेर व्याज लिनेभन्दा पनि नेपालको पूँजी विकास तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा लगानी गरिनुपर्नेमा जोड दिए ।

उनले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए । सेयर बजारमा लगानी कोषको भूमिका महत्वपूर्ण हुने भन्दै कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया