आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउन एडीबीको सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी)का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ ।

नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा बैंकका प्रतिनिधिमण्डलले पनि प्रसन्नता व्यक्त गर्यो । नेपाल भ्रमणमा रहेको बैंकका प्रतिनिधिसँग परिसङ्घले छलफल गर्ने कार्यक्रम तय भएको थियो । सोही क्रममा आज होटल हायात प्यालेसमा भेटवार्ताको प्रबन्ध गरिएको थियो ।

नेपालका बैंक तथा वित्तीय सस्थाको साझा संस्थाको रूपमा रहेको परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानले एडीबीका उपमहानिर्देशक मनमोहन परकाशलाई ढाका टोपी लगाइदिएर स्वागत गरे । नेपाली व्यवसायीको न्यानो स्वागत पाएर एडिबी टोलीले समेत खुसी व्यक्त गर्यो ।

एडिबी प्रतिनिधिमण्डलको साझा धारणा थियो, “यही कारण त नेपाल अन्य देशभन्दा फरक छ । न्यानो आथित्यताका लागि आभार प्रकट गर्छौँ ।” सो अवसरमा वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो ।

एडीबीले व्यावसायिक प्रवद्र्धनका लागि परिसङ्घसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको थियो । दक्षिण एसिया मामिला हेरिरहेका एडीबीका उपमहानिर्देशक परकाशले नविन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर लगानी प्रवद्र्धन गर्न तथा विश्वव्यापी बजार अवसर, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।

“साना तथा मझौला व्यवसायीलाई विनाधितो कर्जा उपलब्ध गराउनुपर्छ, अनि मात्र उनीहरूले दिगोरूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । त्यसबाट ठूलो रोजगारी सिर्जना हुने हुनाले ती उद्योगलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीपको सहयोग गरिनुपर्छ”, उनले भने ।

महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट व्यवसाय प्रवद्र्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठूलो सहयोग पुग्ने उनको सुझाव थियो ।

परिसङ्घका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिँदै त्यसका लागि नीति निर्माणका साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको बताए । सो अवसरमा परिसङ्घका अध्यक्ष गोल्यानले हालको आर्थिक सङ्कटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे ।

त्यसबाट तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उनको भनाइ थियो ।

उद्यमीले पनि कोरोनाका कारणले थला परेका उद्योग पूर्णक्षमतामा सञ्चालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित रहेको भन्दै उनले कठिन समयमा देशका वाणिज्य बैंकले उपभोग गर्न सक्ने अन्तराष्ट्रिय वित्तीय संस्थाबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको बताए ।

हाल नेपालको आयात ४२ प्रतिशत बढीले बढेको छ । विप्रेषण न्यून छ र शोधनान्तर पनि दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा छ । यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न ऋणमा पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया