प्रदेश एकका मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मत राखेकोमा प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । बुधबार भएको मत विभाजनका क्रममा प्रदेशसभाका ९२ सांसदमा ७९ जना उपस्थित भएका थिए ।

मुख्यमन्त्री राईको पक्षमा नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मतदान गरेका थिए ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता राईको नेतृत्वमा गएको कात्तिक १६ गते प्रदेश १ मा नयाँ सरकार बनेको थियो । मुख्यमन्त्री राईले मंगलबार प्रदेशसभामा विश्वासको मत लिन खोजेका थिए । तर, प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदहरू अनुपस्थित भएपछि विश्वासको मत लिने कार्यक्रम आजको लागि सारिएको थियो।

प्रतिक्रिया