सारंगी रेटेर बलिउडमा चर्चा कमाउँदै मौमिन खान

 

मुम्बई। आलिया भट्ट अभिनित फिल्म ‘गगुबाई’ अहिले निकै चर्चामा छ। फिल्मको गीत ‘जब सैंया’ ले मात्र युट्युबमा ५ करोडभन्दा बढी ‘भ्युज’ पाइसकेको छ। गीतमा सारंगीको धुनको उत्कृष्ट प्रयोग भएको छ।

गीतमा प्रयोग गरिएको सारंगी १ सय ५० वर्ष पुरानो भएको हालै भारतीय अखबारहरूले उजागर गरेका छन्। जयपुरको साङ्गेतिक परिवार मौमिन खानको हजुरआमाले त्यो सारंगी पाकिस्तानबाट ल्याएकी थिइन। मौमिन जयपुरको साङ्गेतिक परिवारको आठौं पुस्ता मानिन्छन्। उनी बलिउडको उदयमान संगीतकारको रूपमा पनि चर्चित छन्।

मौमिनले ४ वर्षको उमेरदेखि सारंगी रेट्न थालेका हुन्। ११ वर्षको उमेरमा उनले सारंगीमा स्नातकोत्तर गरिसकेका थिए। बलिउडमा आउनुपूर्व उनी सोसल मिडियामा चर्चित भइसकेका थिए। १४ वर्षको उमेरमा उनले १ सय ५० वर्ष पुरानो सारंगी रेटेको धुन सोसल मिडियामा अपलोड गरेका थिए। यस धुनमा उनले केही घण्टाभित्र ८० हजार ‘भ्युज’ पाइसकेका थिए।

बलिउडमा आउनुअघि उनले मलयालम फिल्म ‘चमक’ मा काम गरेका थिए। मौमिनले १७ वर्षको उमेरमा यश राजको ब्यानरमा काम गरेका थिए। २० वर्षको उमेरमा उनले संगीत निर्देशक साजिद–वाजिदसँग ‘दबंग–३’ फिल्मका लागि ‘आवारा’ गीत रेकर्ड गरेका थिए। उनले अरिजित सिंहका लागि ‘पगलेट’ फिल्ममा ‘लम्हा’ गीतमा काम गरेका छन्।  

जयपुर परिवारबाट बलिउड प्रवेश गर्ने मौमिन पहिलो व्यक्ति हुन्। मौमिन सारंगीको विषयमा भन्ने गर्छन, ‘यो कला मैले आफ्नो पिता पद्मश्री प्राप्त मोइनुद्धिन खानबाट सिकेको हुँ।’ उनी सारंगी अन्य संगीतका सामानभन्दा भिन्न रहेको बताउँछन्। मौमिनका पूर्वजहरू राजा–महाराजाको घरमा संगीत बजाउने काम गर्थे।  

 

प्रतिक्रिया