'अब गठबन्धन निर्वाचन भन्दा धेरै परसम्म जान्छ'

कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामा आफूहरुले गरेको व्याख्यात्मक घोषणाको महत्व बढेको बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन शुक्रबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एमसीसीले नै यसलाई समर्थन गरेकाले यसको व्याख्यात्मक घोषणाको महत्व बढेको बताएका हुन् । उनले निर्वाचनभन्दा अझ परसम्म पनि गठबन्धन जाने विश्वास व्यक्त गरे ।

उनले आफूले अर्थ मन्त्रालय र प्रधानमन्त्रीलाई एमसीसीबाट औपचारिक पत्र प्राप्त गर्ने र जवाफ पठाउने प्रक्रिया सुरु गर्न भनेको बताए । ‘एमसीसीका कारण माओवादी नै विभाजन हुने हो की भन्ने पनि प्रश्न उठेको थियो, अझ गठबन्धनको झनै बढी चर्चा थियो,’ प्रचण्डले भने, ‘एमसीसी पारित गर्ने विषयमा पार्टीभित्र उठेका केही मतभेदहरु पनि एउटै फोरमबाट निष्कर्षमा पुग्नेगरी हामी अगाडि बढेका छौं, अब गठबन्धनले पनि निरन्तरता पाएको छ।’

उनले यसअघि एमालेसँग गरिएको एकता टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति हावी भएको बताए । एमालेसँग कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरी देशको राजनीतिलाई स्थायित्व दिने उद्देश्यले एकता गरिएपनि पार्टीको मूल नेतृत्वले नै संविधानमाथि घात गर्न थालेपछि माओवादी त्यसको विपक्षमा उभिएको उनले बताए।

अध्यक्ष प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताए । देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया