पदाधिकारी चयनमा माओवादीमा सकस, केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पदाधिकारी चयनमा सहमति नजुटेपछि आजका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

माओवादी नेता हरिबोल गजुरेलले बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेका लागि बोलाइएकोमा पछि दिउँसो २ बजेलाई सारिएको थियो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि माओवादीभित्र तीव्र मतभेद छ । शुक्रबारको बैठकमा नेता नारायणकाजी श्रेष्ठले छुट्टै प्रस्तावसमेत पेश गरेका छन् ।

उनले पार्टी नेतृत्व एकलौटी ढंगले अघि बढेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ । तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षबाहेक अन्य पदहरु पनि रिक्त छन् ।

प्रतिक्रिया