एमालेको दाउलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा माओवादी दोस्रो दल हुने बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक नम्बरमा कांगेस र दोस्रो दल माओवादी हुने बताएका हुन् ।

समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने उनले बताए । नेकपा एमाले गाउँगाउँ गइसकेको, कांग्रेसको आफ्नै खालको भोट बैंक रहेको भन्दै अध्यक्ष प्रचण्डले युद्धस्तरमा काम नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्ने बताए ।

प्रचण्डले सभामुखको पद जोगाउनका लागि व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन गर्न राजी भएको बताए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन भत्काउने खेल खेलेको र सभामुख अग्निप्रसाद सापकोटाको पदसमेत धरापमा परेकाले एमसीसी अनुमोदनका लागि व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्नुपरेको बताएका हुन् ।

उनले भने, ‘एमालेले गठबन्धन पनि भत्काउने र संसद पनि विघटन गर्ने खेल खेल्यो। एमालेको दाउलाई पराजित गर्न व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेका हौं ।’ अध्यक्ष प्रचण्डले गठबन्धन बचाएर एमालेलाई फेरि ’कर्नर’मा पुर्याइदिएको दाबी गरे ।

प्रतिक्रिया