नेपाल र भारतबीच जीटूजीमार्फत रासायनिक मल खरिद गर्न सम्झौता

काठमाडौँ । नेपाल र भारत सरकारबीच भारतबाट जीटूजीमा रासायनिक मल खरिद गर्न सम्झौता भएको छ । सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिएका छन् ।

भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले समझदारी पत्र आदान प्रदान गरे । यो सम्झौता ५ वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कृषि सामग्री कम्पनीका कायममुकायम प्रवन्ध संचालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रको आदानप्रदान भएको हो ।

समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो । हस्ताक्षर समारोहमा बोल्दै सचिव चतुर्वेदीले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्याई कृषि सहकार्य अघि बढ्ने बताए । दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुन सक्नेछ ।

प्रतिक्रिया