भट्टको ‘छाइल’ उपन्यासको आवरण लोकार्पण

काठमाडौं । उपन्यासकार लोकराज भट्टको ‘छाइल’ उपन्यासको आवरण लोकार्पण गरिएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा समालोचक एवं सञ्चारकर्मी राजकुमार बानियाँ, ‘बुक्स हिमालय’का प्रबन्ध निर्देशक पवन शाक्य र लेखक भट्टले उपन्यासको आवरण  संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।     

समालोचक बानियाँ ‘छाइल’ सुदूरकै परिवेशमा रहेको आभाष दिलाउने उपन्यास भएको बताउँछन् । “यो साँच्चिकै अर्गानिक पाएँ, यसले आफ्नो माटोप्रति श्रद्धा र माया गरेको छ”, उलने भने । उपन्यास ‘छाइल’मा सुदूरपश्चिम प्रदेशको डोटेली सभ्यताको छाया र प्रतिछाया झल्किने उनले बताए ।

डोटेली भाषामा ‘छाइल’को अर्थ छाया हुन्छ । पुर्खाको इतिहास, संस्कृति, रहनसहन र स्वाभिमानको छायालाई उपन्यासमा उजिल्याउने जमर्को गरेको उपन्यासकार भट्ट बताउँछन् । उनले भने, “उपन्यासमा एउटा युवाको सपना र सङ्घर्षको हृदय पगाल्ने कथा समेटिएको छ ।”

सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको युवा अन्तिममा गाउँको विश्वविद्यालयमा भर्ना हुने भन्दै फर्किएको कुरा उपन्यासमा समावेश गरिएको सो अवसरमा उनले जानकारी दिए । “उपन्यासमा सुदूरका अनेकन पात्रका कथा छन्”, भट्टले भने, “ग्रामीण भेगका कथाले पाठकलाई त्यहीँ पुगेको आभाष दिलाउने पक्का छ ।”

यसमा डेउडाका झङ्कार समाहित गरिएको उल्लेख गर्दै उनले उपन्यासलाई काव्याख्यान वा काव्यान्यास भनेर सम्बोधन गर्दा पनि फरक नपर्ने तर्क गरे । पर्यटन र संस्कृतिको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका सञ्चारकर्मी अमृत भादगाउँलेले ‘छाइल’ मा सुदूरपश्चिमको जनजीवन झल्किएको पाएको उल्लेख गरे ।

“यो उपन्यास पढ्दा सुदूरपश्चिमबारे थाहा पाउन सहज हुन्छ”, उनले भने, “यसले डोटेली भाषा, संस्कृति र सभ्यतालाई चिनाउन थप टेवा पुग्नेछ ।” सांस्कृतिक अध्येयता हेमन्त विवशले उपन्यासमा सुदूरपश्चिमको भाषा र संस्कृतिलाई समेटिएको बताए । “यसमा सुदूरपश्चिमको हरेक कुराको छाया पाउन सकिन्छ”, उनले भने ।

छाइल ‘बुक्स हिमालय’ले प्रकाशन गर्न लागेको पहिलो उपन्यास हो । यसलाई फागुन मसान्तभित्र बजारमा ल्याइने प्रबन्ध निर्देशक शाक्यले बताए । बुक्स हिमालय नेपाली साहित्यको प्रवद्र्धनमा क्रियाशील रहेको उनको भनाइ छ । डोटीको केआइ सिंह गाउँपालिका वायल घर भएका भट्टको यो पहिलो आख्यान पुस्तक हो । यसले नेपाली आख्यानमा मौलिक छाप छाड्ने प्रकाशक संस्था बुक्स हिमालयको विश्वास छ ।
 

प्रतिक्रिया