समाजवादी लक्ष्य हासिल गर्न खबरदारी आवश्यकः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गरेका छन् ।

तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ ।’ समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न खबरदारी आवश्यक रहेको उनको जोड छ । 

परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना पनि प्रचण्डले गरेका छन् ।

विभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरुले नेपालीहरु बीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यवद्धतामा सघाउ पुर्याउने प्रचण्डको विश्वास छ । अध्यक्ष प्रचण्डले कूल पूजा, प्रकृति पूजा गर्दै मिठो मसिनो खाएर रमाइलो गर्दै तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउने गरेको स्मरण पनि गरेका छन् ।

प्रतिक्रिया